ऋण लिँदा र अग्रिम भुक्तानी गर्दा बराबर शुल्क, बैंकहरुको आम्दानी बढ्ने

ऋण लिँदा र अग्रिम भुक्तानी गर्दा बराबर शुल्क, बैंकहरुको आम्दानी बढ्ने


ऋण लिँदा र अग्रिम भुक्तानी गर्दा बराबर शुल्क, बैंकहरुको आम्दानी बढ्ने
बैकिङ्ग समाचार
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको आम्दानी बढाउने नीति अबलम्बन गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको आम्दानी बढाउने गरी अग्रिम कर्जा भुक्तानी गर्दा र ऋण लिँदा तिर्नुपर्ने शुल्क बराबर गरेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले प्रतिबद्धता शुल्क र नवीकरण हुने प्रकृतिका कर्जामा लिने नवीकरण शुल्कको हकमा सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म मात्र लिने व्यवस्था गरेको थियो । 

बैंकरहरुले आम्दानी गर्ने माध्यमहरुमा केन्द्रीय बैंकले कडाई गरेको भन्दै फरक मत राखेपछि चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत त्यसलाई परिवर्तन गरेको हो ।

बैंकिङ्ग सेवालाइ सस्तो र सुलभ बनाउने भने पनि बैंकरहरुको दबाबका कारण केन्द्रीय बैंकले यो नीति ३ महिनामा नै परिवर्तन गरेको हो ।

एकीकृत निर्देशिका २०७७ अनुसार “क”, “ख” र “ग”, वर्गका बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म लिन पाईनेछ । तर, प्रतिबद्धता शुल्क र नवीकरण हुने प्रकृतिका कर्जामा लिने नवीकरण शुल्कको हकमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म तथा देहाय अनुसार अग्रिम भुक्तानी शूल्क वा ऋणीले बैंक परिवर्तन गर्दा लिने कर्जा स्वाप शुल्क लिन पाइने व्यवस्था गरेको थियो ।

तर, केन्द्रीय बैंकले यो व्यवस्थालाई संशोधन गरेर कर्जा प्रवाह भएको २ वर्षभित्र कर्जाको अग्रिम भुक्तानी भएमा खण्ड सेवा शुल्कको अधिकतम शतप्रतिशतसम्म अग्रिम भुक्तानी फि लिनसक्ने व्यवस्था गरेको छ । त्यसैगरी २ वर्ष देखि ५ वर्षभित्र कर्जा चुक्ता भएमा सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ वर्ष भन्दापछि कर्जा चुक्ता भएमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म लिनसक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले कर्जा प्रवाह भएको २ वर्ष भित्र बैंक परिवर्तन गरेमा बक्यौता रकममा सेवा शुल्कको अधिकतम शतप्रतिशतसम्म, २ वर्ष देखी ५ वर्ष भित्र बैंक परिवर्तन गरेमा बक्यौता रकममा सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ वर्ष पछि बैंक परिवर्तन गरेमा वक्यौता रकममा सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म दस्तुर लाग्ने व्यवस्सथा गरेको हो ।

केन्द्रीय बैंकले स्थिर व्याजदरमा प्रवाह भएका आवधिक कर्जाको हकमा ऋणीसँगको सहमतिमा कर्जा स्वीकृति पत्रमा उल्लेख भएबमोजिम सेवा शुल्कको शतप्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सकिने व्यवस्था समेत गरेको छ ।