होस गर्नुहोस्, बैंकिङ्ग कसूर लाग्यो भने यस्तोसम्म संजाय हुनसक्छ !

होस गर्नुहोस्, बैंकिङ्ग कसूर लाग्यो भने यस्तोसम्म संजाय हुनसक्छ !


सुरेश शर्मा, काठमाडौं । 

बैंकिङ्ग कसूर भनेको के हो ?

कानुनी व्यवस्थाविपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ्ग कसुर भनिन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अन्य कुनै व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्यांकन गरि ऋण लिने तथा दिने काम बैंकिङ्ग कसूरभित्र पर्छन् ।  नेपालमा बैंकिङ्ग कसूर तथा यसमा दिइने सजायको बारेमा ‘बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४’ मा उल्लेख गरिएको छ । यो ऐन नेपालभर र नेपालमा बैंकिङ्ग कसूर गरी विदेशमा बसेका जुनसुकै व्यक्ति वा संस्था समेतलाई लागू हुन्छ ।

कस्ता कार्य गर्नेलाई लाग्छ बैंकिङ्ग कसूरको मुद्दा ?

कुनै पनि व्यक्ति वा संस्थाले बैंक तथा वित्तिय संस्थासंग कारोवार गर्दा निम्न कार्यहरु गरेमा बैंकिङ्ग कसूरको मुद्दा लाग्दछ ।

१. कसैले पनि बैंक तथा वित्तिय संस्थामा खाता खोल्दा नक्कली कागजात पेस गरी खाता खोल्ने वा त्यस्तो कागजात पेस गरि खाता खोल्न लागेको छ भन्ने जानिजानि खाता खोलिदिने तथा त्यस्तो खातामा रकम जम्मा गर्ने, गराउने वा त्यस्तो खाताबाट रकम निकाल्ने वा सो कार्यमा सहयोग गरेमा वा त्यसरी खाता खोली विद्युतीय कार्ड या उपकरणको प्रयोग गरी रकम निकालेमा, वाकानुन बमोजिम बाहेक काल्पनिक व्यक्ति वा संस्थाको नाममा खाता खोल्ने वा खोलिदिने, तथा आफ्नो खातामा मौज्दात रकम नभएको आफैँले जान्दा जान्दै पनि चेक काट्ने ।

२.कसैले पनि बैंक तथा वित्तिय संस्थामा रहेको अन्य व्यतिको खाताबाट अनाधिकृत रुपमा रकम निकाल्ने, तथा अनाधिकृत रुपमा ग्रहाकको खाताबाट रकम रकमान्तर गर्ने वा रकम भुक्तानी दिने ।

३.कसैले पनि क्रेडिट कार्ड, डेबिड कार्ड, अटोमेटेड टेलर मसिन (एटिएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग अनधिकृत प्रयोग गरी रकम भुक्तानी लिने वा दिने ।

४.कसैले पनि बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिदा वा दिंदा तल समावेश गरिएका कार्यहरु गरेमा उनीहरुलाई बैंकिङ्ग कसुरको मुद्दा लाग्छः 

क) गलत, झुट्टा वा नरहेको वित्तिय विवरण पेस गरी वा नक्कली व्यवसाय खडा गरी कर्जा लिने वादिने, तथा धितो बढी मूल्याङ्कन गरी कर्जा लिने वा दिने, अथवा झुट्टा विवरणको आधारमा परियोजनाको लागत बढाई बढी कर्जा लिने वा दिने त्यस्तै स्वीकृत सीमा भन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्ने वा गराउने,

ख) बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक तथा वित्तिय संस्थाको विनियमावली बमोजिम पाउने कर्मचारी सुविधा अन्तर्गतको कर्जा वा सापटी बाहेक अन्य तरिकाले कर्जा वा सापटी लिने, अथवा बैंक तथा वित्तिय संस्थाको संस्थापक, सन्चालक, शेयरधनी वा त्यतो व्यत्तिका परिवारका सदस्यले सो बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिने,

तर, मुद्दती रसिद, सुन वा सरकारी ऋणपत्रको सुरक्षामा कर्जा लिन उल्लेखित व्यवस्थाले बाधा पुर्याउँदैन । 

ग) कुनै एक बैंक तथा वित्तिय संस्थालाई दिईसकेको सुरक्षण फुकुवा नभई सोही सुरक्षणले अर्को बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिने वा दिने, तर सुरक्षणले खामेको हदसम्म दोस्रो हक कायम हुने गरी कर्जा लिन वा दिन यो बन्देज लागु हुने छैन ।

घ) ग्राहकको कारोबारको तुलनामा आवश्यकता भन्दा बढी कर्जा दिने, र कर्जा उपलब्ध गराए बापत कुने किसिमको अनुचित लाभ लिने वा दिने,

ङ) बैंक तथा वित्तिय संस्थाको संस्थापक, सन्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्ने व्यत्तिले आफुले समेत ऋण सुविधा उपयोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी वा आफ्नो वित्तिय स्वार्थ गासिएको व्यत्तिवा संस्थालाई ऋण प्रवाह गर्ने ।

५.कसैले पनि बैंक तथा वित्तिय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजका लागि नलिई अन्यत्र प्रयोग गरी कर्जाको दुरुपयोग गर्नु हुदैन ।

६) बैंक तथा वित्तिय संस्थाको संस्थापक, सन्चालक, प्रमुख कार्यकारी अधिकृत वा कर्मचारी, शेयर धनी, मेनेजिङ एजेन्ट वा सम्बद्द व्यत्ति वा संस्था तथा त्यस्तो व्यक्तीका परिवारका सदस्यले बैंक तथा वित्तिय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक तथा वित्तिय संस्थाको स्रोत तथा साधनको दुरुपयोग गर्नु हुदैन । 

७.बैंक तथा वित्तिय संस्थालाई तिर्नु पर्ने ऋणको भाखा नाघी कालो सुचीमा परेको ऋणीले तिर्नु पर्ने कर्जा नतिरी स्वदेश वा विदेश स्थित बैंक तथा वित्तिय संस्थामा खाताखोली रकम राख्न वा त्यस्तो खातालाई निरन्तरता दिने तथा अन्यकुनै तरिकाले चल वा अचल सम्पत्ति खरिद गरी हक भोग गर्न पाइदैन ।

८.बैंक तथा वित्तिय संस्थाले ऋणीको कुनै परियोजनाको लागिकर्जा वा सुविधा स्वीकृत गरि पहिलो किस्ता प्रदान गरिसकेपछि पर्याप्त आधार र मुनासिब कारण बिना ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी बाकीँ किस्ता वा सुविधा बीचमा रोक्न हुदैन । 

९.कसैले पनि बैंक तथा वित्तिय संस्थाको कुनै कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्कै मतलब निस्कने गरी आफुलाई वा अरु कसैलाई फाईदा वा हानी नोक्सानी गर्ने उद्देश्यले झुट्टा कुरा गरे वा मिती, अंङ्क, वा व्यहोरा फरक पारी सहीछाप गरी कागज बनाई वा बनाउन लगाई जालसाजी गरेमा एवम् कुनै बैंक तथा वित्तिय संस्था वा सहकारी संस्था वा संघलाई विभिन्न तवरले झुक्याई कारोवार गरेमा ।
१०. मुल्याङ्कन कर्ताले धितो स्वरुप बैंक तथा वित्तिय संस्थामा राखिने चल अचल सम्पत्तिको वा बैंक तथा वित्तिय संस्थाको चल अचल लिलाम बिक्रीका लागी हुने मुल्याङ्कन गर्दा बढी, कम या गलत मुल्याङ्कन गरेमा वा बैंक तथा वित्तिय संस्थाबाट कर्जा वा सुविधा प्राप्त गर्ने प्रायोजनमा कुने व्यत्ति वा संस्थाले एउटै मिति वा अवधिको अलग–अलग वित्तिय विवरण तयार गरेमा ।

११.बैंक तथा वित्तिय संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले पनि कुनै काम गर्ने वा गराउने अथवा कसैले पनि ढुकुटीको कारोवार गर्ने वा गराउने तथा कुनै व्यत्ति वा संस्थाले गैर कानूनी रुपमा बैंकिङ्ग कारोवार गरेमा ।

के हुन्छ सजाय ?

बैंक तथा वित्तिय संस्थासंग करोवार गर्दा कुनै पनि व्यत्ति वा संस्थाले माथि उल्लेखित कार्य गरेमा बैंकिङ्ग कसुरको मुद्दा लाग्दछ र निम्न दण्ड सजाय बमोजिम जरिवाना वा कैदसम्म हुन्छ ।

-१ अर्ब रुपैयाँ भन्दा बढी कसूर गर्नेलाई १२ वर्षसम्म जेल सजाय हुन सक्दछ ।

-५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कसुर गर्नेलाई ८ देखि १० वर्ष, १० करोडदेखि ५० करोड रुपैयाँ कसुर गर्नेलाई ६ देखि ८ वर्ष, १ करोडदेखि १० करोड रुपैयाँसम्म कसुर गर्नेलाई ४ देखि ६ वर्ष जेल सजाय हुने ऐनमा उल्लेख छ । 
-५० लाख देखि १ करोड रुपैयाँ सम्म कसूर गर्नेलाई ३ देखि ४ वर्ष, १० लाखदेखि ५० लाखसम्म कसुर गर्नेलाई २ देखि ३ वर्ष र १० लाख रुपैयाँसम्म कसुर गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ ।