प्रहरी महानिरीक्षक डा. केसीद्वारा वित्तीय अपराध अनुसन्धानसम्बन्धी कार्यशालाको उद्घाटन


काठमाडौं – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन्। ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सोही अवसरमा महानिरीक्षक डा. केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न चुनौतीहरूको सामना गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए। कार्यशालाले वित्तीय अपराध अनुसन्धानमा संलग्न विभिन्न निकायबीच अनुभव, ज्ञान र विशेषज्ञता आदानप्रदान गर्दै अनुसन्धान प्रक्रियालाई थप वैज्ञानिक, प्रभावकारी र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।