काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको राजस्व प्रणाली अझै पनि आयातमा निर्भर रहेकाले यसलाई आन्तरिक उत्पादन र आर्थिक गतिविधिमा आधारित बनाउनुपर्ने बताएका छन्। कर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय राजस्व संकलनका सूचक सकारात्मक देखिए पनि अर्थतन्त्रको संरचनागत समस्या समाधान गर्न आवश्यक रहेको बताए।
उनका अनुसार पछिल्लो तथ्यांकमा राजस्व संकलनमा २२.७ प्रतिशत वृद्धि देखिएको छ। आयातमा ३.४ प्रतिशत, भन्सार राजस्वमा ३.३ प्रतिशत, मूल्य अभिवृद्धि कर (भ्याट) मा १६.३ प्रतिशत, आयकरमा १४.६ प्रतिशत र अन्तःशुल्कमा ४३.९ प्रतिशत वृद्धि देखिएको छ। राजस्वका यी सूचक सकारात्मक भए पनि आयातमा आधारित राजस्व प्रणालीले अर्थतन्त्रको वास्तविक उत्पादन क्षमता प्रतिबिम्बित गर्न नसक्ने उनको भनाइ छ। त्यसैले आन्तरिक उत्पादन, उद्यमशीलता र व्यावसायिक गतिविधि विस्तारमार्फत राजस्वको आधार बलियो बनाउनुपर्ने उनले बताए।
श्रेष्ठले नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकार, प्रशासनिक संयन्त्र र निजी क्षेत्र सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे। उनले भने, ‘यसमा दोषी हामी सबै छौँ जस्तो लाग्छ। सरकार, प्रशासन र हामी व्यवसायी सबै मिलेर अर्थतन्त्रलाई सही दिशामा लैजानुपर्छ।’कर तिर्ने संस्कार र कर अनुपालनमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले व्यवसायीले पनि राज्यप्रतिको दायित्व पूरा गर्नुपर्ने बताए। कर प्रणालीलाई सहज र व्यवसायमैत्री बनाउँदै करको दायरा विस्तार गर्नुपर्ने उनको धारणा थियो।
सरकारले पछिल्लो समय कर प्रशासन सुधार, करदातालाई प्रोत्साहन तथा विभिन्न छुट र सहुलियतका कार्यक्रम ल्याएको उल्लेख गर्दै श्रेष्ठले यस्ता प्रयासले निजी क्षेत्रको मनोबल बढाउन र आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। उनले राजस्व वृद्धिलाई दीर्घकालीन र दिगो बनाउन आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन तथा लगानी प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।





About Us
प्रतिक्रिया