काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरूको विदेश भ्रमणलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेको छ। एकपछि अर्को टोली विभिन्न देशको भ्रमणमा निस्कन थालेपछि पार्टीकै सांसदहरूले भ्रमणको औचित्य, खर्चको स्रोत, उपलब्धि र राजनीतिक नैतिकतामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा सहभागी हुन पाँच मन्त्रीसहित सांसदहरू टर्किए पुगेका बेला रास्वपाका २० सांसदको टोली चीन भ्रमणमा निस्किएको छ। त्यस्तै, दुई सांसद मलेसियामा आयोजित एसियाली महिला सांसद ककसमा सहभागी छन् भने अर्की सांसद बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाने तयारीमा छिन्।
पार्टीका नेता तथा सांसदहरू विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भइरहेका बेला रास्वपाकै सांसद गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणको प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। उनीहरूले राज्यकोषको खर्च, भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त हुने उपलब्धि सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। सांसद गणेश कार्कीले कोप-३१ मा सहभागी हुन टर्किए पुगेका तथा पुगिरहेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले सरकारी खर्चमा गएको वा व्यक्तिगत खर्चमा गएको स्पष्ट पार्नुपर्ने बताएका छन्।‘सधैँ झैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ। वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु,’ सांसद कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून्। गर्नै पर्छ।’
सांसद कार्कीले कोपमा सहभागी हुँदा सिक्ने र अनुभव हासिल गर्ने अवसर भए पनि व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने बताएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनु आफैँमा उपलब्धि होइन, त्यसका लागि राज्यको स्रोतसाधन खर्च गर्दा त्यसको औचित्य पनि पुष्टि हुनुपर्छ। त्यस्तै, रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद ज्वाला संग्रौलाले सामूहिक रूपमा विदेश भ्रमण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। विगतमा अन्य दलका नेता तथा सांसदहरूले समूह बनाएर विदेश भ्रमण गर्दा आलोचना गर्नेहरू अहिले आफैँ त्यही अभ्यासमा लागेको उनको टिप्पणी छ।
‘हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत छ साथीहरू। हिजो अरूले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ ?’ उनले लेखेकी छन्। सम्बन्धित मुलुकले आफ्नै खर्चमा विज्ञ तथा सांसदहरूलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमणलाई अन्यथा मान्न नसकिने भए पनि राज्यकोष खर्च गरेर गरिने भ्रमण उचित नहुने उनको भनाइ छ। ‘सम्बन्धित मुलुकले खर्च बेहोरेर यति सांसद पठाइदिनु, त्यो पनि विज्ञ पठाइदिनु भनेर निमन्त्रणा गरेको हो भने ठीक छ । तर राज्यको धनराशि खर्च गरेर हामी उडेका हौँ भने यो तरिका हिजो पनि बेठीक हो र आज पनि,’ उनले लेखेकी छन्। विदेश भ्रमणमा जान नपाएर आफूले यस्तो टिप्पणी नगरेको स्पष्ट पार्दै उनले जनताको घरआँगनमा पुग्दा बढी जिम्मेवार महसुस हुने बताएकी छन्।
अर्की सांसद आशिका तामाङले पनि राज्यको ढुकुटीबाट सांसदहरूले कति पटक विदेश भ्रमण गर्न पाउने भन्ने प्रश्न उठाएकी छन्। संसदीय समितिका नाममा हुने विदेश भ्रमणबारे आफ्नै पार्टीका सांसदहरूलाई समेत जानकारी नहुने गरेको उनको गुनासो छ। ‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू केका लागि विदेश जानुभयो भनेर,’ उनले लेखेकी छन्।
उनले राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको उपलब्धिबारे जनतालाई जानकारी दिनुपर्ने माग गरेकी छन्। भ्रमणको उद्देश्य र त्यसबाट हासिल भएका उपलब्धि स्पष्ट नहुँदा विदेश भ्रमण केवल समुद्री किनारमा फोटो खिच्ने र टिकटक बनाउने गतिविधिमा सीमित भएको हो कि भन्ने प्रश्नसमेत उनले उठाएकी छन्। सांसद राजु पाण्डेले पनि जिम्मेवारीमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गरेका छन्। ‘जिम्मेवारी/कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ… अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी। जय मातृभूमि नेपाल,’ सांसद पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।
२० सांसद चीन भ्रमणमा
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसदको टोली आइतबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन प्रस्थान गरेको छ। टोलीको भ्रमण ११ दिनको हुनेछ। टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० सांसद सहभागी छन्। उनीहरूले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।
चीन जानुअघि टोलीले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेको थियो। टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए। महामन्त्री आचार्यले भने चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने दाबी गरेका छन्। भ्रमण अवधिभरको सम्पूर्ण लजिस्टिक व्यवस्थापन चिनियाँ पक्षले नै गर्ने उनको भनाइ छ। विदेश भ्रमणबारे पार्टीभित्रैबाट उठेका प्रश्नलाई विरोधका रूपमा बुझ्न नहुने भन्दै उनले भ्रमणको औचित्य, राज्यकोषको सदुपयोग र उपयुक्त व्यक्तिको सहभागिताबारे प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्।
कोप–३१ मा पाँच मन्त्री र सांसदहरूको सहभागिता
टर्किएको अन्ताल्यामा जारी कोप-३१ मा नेपालबाट पाँच मन्त्री सहभागी भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहता सम्मेलनमा सहभागी भएका हुन्। परराष्ट्रमन्त्री खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी पठाइएको थियो। खनाल नेपाल फर्किएपछि नेपालको प्रतिनिधित्व चौधरीले गरिरहेकी छन्।
यसैगरी, संघीय संसद्अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच सांसद शनिबार कोप-३१ मा सहभागी हुन टर्किए पुगेका छन्। उनीहरूमा आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी छन्। सभापति चौधरीले जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा सम्मेलनमा सहभागिता जनाउने बताएका छन्। उनको दाबीअनुसार यस भ्रमणले संघीय संसद् सचिवालयलाई आर्थिक भार पर्ने छैन। टर्किएमा कोप–३१ मा सहभागी हुन पुगेका रास्वपाका सांसद डा. राम लामा र सागर ढकाल काठमाडौं फर्किएलगत्तै चीन भ्रमणमा गएको विवरण पनि सार्वजनिक भएको छ।
मलेसियामा दुई सांसद, फिलिपिन्स जाँदै तोसिमा
रास्वपाका सांसद रञ्जु दर्शना र शोभा खनाल मलेसियामा आयोजित एसियाली महिला सांसद ककस २०२६ मा सहभागी भएका छन्। सांसद दर्शनाले एसियाका विभिन्न देशका महिला सांसद तथा नेतृत्वकर्ताबीच साझा चुनौती र अनुभव आदानप्रदान गर्ने अवसरलाई महत्त्वपूर्ण बताएकी छन्। यस्ता कार्यक्रमबाट प्राप्त अनुभवलाई सामूहिक समाधान खोज्दै व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ।
यसैगरी, रास्वपाकी सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाने तयारीमा छिन्। फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा नोभेम्बर १८ र १९ मा राजधानी मनिलामा सम्मेलन हुँदैछ। सम्मेलनअघि नोभेम्बर १६ मा बालबालिकामाथिको हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा विशेष संसदीय नेतृत्व कार्यक्रमसमेत आयोजना हुँदैछ।
यसरी रास्वपाका नेता तथा सांसदहरू विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र राजनीतिक भ्रमणमा सहभागी भइरहेका बेला पार्टीभित्रैबाट भ्रमणको औचित्य, खर्चको पारदर्शिता र उपलब्धिबारे प्रश्न उठेको छ। भ्रमण आयोजकले खर्च बेहोरेको अवस्थामा र राज्यकोषबाट खर्च भएको अवस्थामा अपनाउनुपर्ने जवाफदेहिताबारे पनि बहस सुरु भएको छ। पार्टीकै सांसदहरूले उठाएका प्रश्नले विदेश भ्रमणको संख्या मात्र नभई त्यसको उद्देश्य, सहभागीको भूमिका, खर्चको स्रोत र नेपालले हासिल गर्ने ठोस उपलब्धि सार्वजनिक गर्नुपर्ने विषयलाई थप चर्चामा ल्याएको छ।






About Us
प्रतिक्रिया