सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने: महानिरीक्षक केसी


काठमाडौं – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले छठ पर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विगतमा घटेका घटनाहरूको विश्लेषण गरी सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छठ पर्वको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा शनिवार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताएका हुन्।   

केसीले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले छठ पर्वको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आ–आफ्नो क्षेत्रमा अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिहरूलाई समयमै सुधार गर्नुपर्ने बताए। छठ पर्वको समयमा नदी, तलाउ र पोखरीका घाटहरूमा ठूलो भीडभाड हुने भएकाले विशिष्ट  व्यक्तिहरूको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति अपनाउनुपर्ने उनले बताए।

पर्वको समयमा कुनै पनि घटना हुन नदिन थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगमा विशेष संवेदनशीलता अपनाउनु पर्नेमा उनले जोड दिए। केसीले चाडपर्व पश्चात हुन सक्ने अवाञ्छित गतिविधिहरू सम्बन्धी सूचना संकलन गरी विशेष सुरक्षा योजना बनाउन निर्देशन दिए। सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताउँदै गैर व्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उनले बताए।

Skip This