एसिया–प्रशान्त स्वास्थ्य तथा वित्त समिति अध्यक्षहरूको बैठक : पहिलो दिन नेपालको सक्रिय सहभागिता र स्वास्थ्य प्राथमिकता प्रस्तुत


काठमाडाैं – एसिया–प्रशान्त स्वास्थ्य तथा वित्त समिति अध्यक्षहरूको बैठकमा नेपालको तर्फबाट माननीय डा. ओजस्वी सेर्चन र माननीय डा. कृष्णहरि बुढाथोकीले सहभागिता जनाउँदै नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा नीतिगत प्रयासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन्।

एसिया–प्रशान्त क्षेत्रमा स्वास्थ्य वित्तपोषण, क्षयरोग नियन्त्रण तथा फोक्सोसम्बन्धी रोगहरूको रोकथामका विषयमा केन्द्रित उक्त बैठकको पहिलो दिनका औपचारिक सत्रहरू इण्डोनेसियाको सानुरीमा सम्पन्न भएका छन्।

बैठकको पहिलो दिन एसिया–प्रशान्त क्षेत्रमा क्षयरोग, फोक्सोको क्यान्सर तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगहरूको बढ्दो चुनौती र तिनको प्रभावकारी नियन्त्रणका लागि आवश्यक नीतिगत तथा वित्तीय व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको थियो। उक्त सत्रमा विश्व स्वास्थ्य संगठन, ग्लोबल फण्ड, एसियाली विकास बैंक तथा गेट्स फाउन्डेसनका प्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्रोत परिचालन र रोग नियन्त्रणका रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए।

त्यसैगरी, स्वास्थ्य सेवामा विद्यमान खण्डित प्रणालीलाई एकीकृत गर्दै नागरिककेन्द्रित, पहुँचयोग्य र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषयमा सहभागी संसदीय प्रतिनिधिहरूबीच उच्चस्तरीय संवाद भएको थियो। छलफलका क्रममा विभिन्न देशका सांसदहरूले आ–आफ्नो मुलुकका अनुभव, नीतिगत चुनौती तथा सफल अभ्यासहरू आदानप्रदान गरेका थिए।

बैठकमा नेपाली प्रतिनिधिहरूले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता, संसद् तथा नीति निर्माण तहबाट क्षयरोगलगायत संक्रामक रोग नियन्त्रणका लागि भइरहेका प्रयास र प्रतिबद्धताबारे धारणा राख्नुभएको थियो। साथै, उनीहरूले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाका अधिकारीहरूसँग द्विपक्षीय र बहुपक्षीय छलफल गर्दै अनुभव आदानप्रदान गरेका थिए।

यस बैठकमा नेपालको सहभागितालाई क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य वित्तपोषणका लागि अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरण तथा क्षयरोग नियन्त्रणसम्बन्धी साझा प्रतिबद्धता निर्माणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। बैठकको दोस्रो दिन एसिया–प्रशान्त क्षेत्रमा स्वास्थ्य वित्तपोषणलाई थप प्रभावकारी बनाउने, संक्रामक रोग नियन्त्रणका प्रयासलाई सुदृढ गर्ने तथा सदस्य राष्ट्रहरूबीच नीतिगत सहकार्य र प्रतिबद्धता विस्तार गर्ने विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।

ग्लोबल टीबी ककस र ग्लोबल हेल्थ ककसको संयुक्त आयोजनामा विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा आयोजित बैठकको उद्घाटन ग्लोबल टीबी ककसका अध्यक्ष लर्ड निक हबर्ट, इण्डोनेसियाकी क्षेत्रीय सह-अध्यक्ष इबु पुतिह सारी तथा अष्ट्रेलियाका क्षेत्रीय सह-अध्यक्ष माननीय वारेन एन्ट्सचलगायतको उपस्थितिमा भएको थियो।