काठमाडौं – प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन र फिनटेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यका साथ एनआरबी फिनटेक इनोभेशन शोकेश इभेन्ट २०२६ सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो । बालुवाटारस्थित बैंक परिसरमा आयोजित कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले कार्यक्रम उद्घाटन गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
नवप्रवर्तनमा आधारित नियामकीय र सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको जानकारी समेत उनले दिए । फिनटेकको विस्तारसँगै यसबाट सिर्जित चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको धारणा गभर्नर पौडेलले राखे । उनले भने, ‘एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्फ वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ ।’
फिनटेक नवप्रवर्तनको प्रवर्द्धन र विकासका निम्ति नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकतामा उनले जोड दिए । सो अवसरमा डेपुटी गभर्नर किरण पण्डितले फिनटेकको प्रवर्द्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे चर्चा गरे । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिए ।

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घ बहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो । यस कार्यक्रमअन्तर्गत वित्तीय संस्था र फिनटेक कम्पनीका २७ वटा स्टलहरू प्रदर्शनीमा राखिएको थियो ।
डिजिटल बैंकिङ्ग, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन (रेग्टेक) सेवामा ती संस्था/कम्पनीबाट भएका नवप्रवर्तनलाई उक्त प्रदर्शनीमा समेटिएको थियो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी लगायतका संस्थाका एक हजारभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । उक्त कार्यक्रमकै सिलसिलामा डिजिटल ल्यान्डिङ एन्ड क्रेडिट कार्ड फर अन्डरसर्भ विषयक प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो ।

फिन्टेक अलायन्स नेपालका तर्पmबाट मनोज घिमिरेले उक्त छलफलको सहजीकरण गर्नुभयो भने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र अलायन्सका अध्यक्ष अमित अग्रवाल प्यानलिस्टको भूमिकामा सहभागी भएका थिए । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको फिनटेक स्ट्राटेजी पर डिजिटल फाइनान्सियल सर्भिसेज (२०२६/२७(२०३०३१) अन्तर्गत फिन्टेक इकोसिस्टमका नवप्रवर्तक र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखिएको छ । सोही रणनीतिअन्तर्गत नै बैंकले डिजिटल फाइनान्स इनोभेशन हब र रेगुलेटरी स्यान्डबक्स ‘एनआरबी फिनटेक नेक्सस’ लाई प्रभावकारी बनाउन फिनटेक वर्कसप, ह्याकनाथहरू, इनोभेसन च्यालेन्जे संयन्त्रसमेत तयार गरेको छ ।





About Us
प्रतिक्रिया