बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते


काठमाडौं – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि उनीहरूलाई भारतको लखनउ रिफर गरिएको छ। प्रहरीका अनुसार, २०८३ कात्तिक १५ गते बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि अचानक आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको प्रहरीले जनाएको छ।

आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो। घाइतेमध्ये जानकी गाउँपालिका–५ निवासी २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको छ। उनीहरूलाई बिहान ८ः४५ बजे थप उपचारका लागि भारतको लखनउ पठाइएको हो। त्यसैगरी, घाइते हुने अन्यमा २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव तथा भारतको बहराइच जिल्लास्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कम्पनीमा भएको भौतिक तथा अन्य क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Skip This