१५ दिनमा २ सय ३९ जना लागूऔषध कारोबारी पक्राउ


काठमाडौं – सुनसरी इनरूवा नगरपालिका– ४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा ९ सय १५ किलो ६ सय ८० ग्राम सहित ३६ वर्षीय बुलबुल यादव समेत ४ जना कात्तिक १ गते पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।  

यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका– ५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित बारा घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा घर भएका २७ वर्षीय सुनिल सहनी कात्तिक २ गते पक्राउ परे। विगत १५ दिनको अवधिमा अवैध लागूऔषधसहित पक्राउ पर्ने बुलबुल यादव लगायतका व्यक्तिहरू प्रतिनिधि पात्र मात्र हुन्।

नेपाल प्रहरीले यस वर्षको दसैं ९असोज २५ देखि कात्तिक ८ गते० को अवधिमा देशभरबाट २ सय ३९ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये लागूऔषध नियन्त्रण ब्यूरोबाट ३ जना, उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेका हुन्। 

पछिल्लो समयमा लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरी कार्य गरिरहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भने, ‘लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ।

चाडपर्वको समयमा समेत लागूऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सुक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ।’ सो अवधिमा अवैध लागूऔषध गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा  विभिन्न किसिमका नियन्त्रित लागूऔषध समेत प्रहरीले बरामद गरेको छ।