दुई रुपैयाँ दरका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै पूर्व–योग्य सुरक्षामूलक मिन्टिङ कम्पनीहरूबाट सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि सिलबन्दी बोलपत्र माग गरेको हो।

बोलपत्रसम्बन्धी कागजात ३ नोभेम्बर २०२६ सम्म खरिद गर्न सकिनेछ भने यसको शुल्क २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर र ११५ युरो तोकिएको छ। एक चरणको दुई खाम प्रणालीबाट हुने प्रक्रियामा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै बुझाउनुपर्नेछ।

पूर्वबोलपत्र बैठक १६ अक्टोबर २०२६ मा दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ। बोलपत्र बुझाउने अन्तिम समय ४ नोभेम्बर दिउँसो १२ बजे र खोल्ने समय सोही दिन १ बजे तोकिएको छ।

बोलपत्रदाताले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्नेछ, जुन बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ। कालोसूचीमा रहेका कम्पनी तथा तिनसँग सम्बन्धित व्यक्तिलाई प्रक्रियामा सहभागी हुन नदिइने केन्द्रीय बैंकले जनाएकाे छ।