केन्द्रीय बैंकः

बैंकहरूले शेयरमा गरेको लगानी ४५ दिनपछि बेच्न पाउने नयाँ व्यवस्था लागू

लगानी नीति तथा कार्यविधि स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था


काठमाडौं – नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको शेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै यसअघिको ६ महिना अवधिलाई घटाएर ४५ दिनमा झारेको हो।

राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थालाई सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो। संशोधित व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ देखि पूँजी पर्याप्तता ढाँचा, २०१५ मा व्यवस्था भएबमोजिमको प्रतिचक्रीय पूँजी सञ्चिति कायम गर्नुपर्नेछ। आर्थिक वर्ष २०८३/८४ का लागि भने यस्तो सञ्चिति शून्य प्रतिशत रहने राष्ट्र बैंकले जनाएको छ।

लगानी नीति तथा कार्यविधि स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंकका ऋणपत्र तथा संगठित संस्थाका शेयर, ऋणपत्रलगायतका वित्तीय उपकरणमा गर्ने लगानीलाई व्यवस्थित बनाउन लगानी नीति तथा कार्यविधि अनिवार्य रूपमा तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्तो नीति तथा कार्यविधिमा सट्टेबाजीजन्य जोखिम न्यूनीकरण हुने गरी लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने शेयर तथा ऋणपत्रलगायतका उपकरण, लगानी उपकरणलाई बैंकिङ कारोबार र व्यापारिक कारोबारमा वर्गीकरण तथा स्वीकार्य र अस्वीकार्य लगानीसम्बन्धी स्पष्ट व्यवस्था समावेश गर्नुपर्नेछ। त्यस्तै, नीतिगत व्यवस्था सम्बन्धी विषयहरुमा लगानी उपकरणलाई बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण गर्ने लगानी गर्न सकिने शेयर, डिबेञ्चरलगायतका उपकरणहरूको विकास गर्ने जस्ता विषयहरू रहेका छन्।