इन्ट्राडे कार्यान्वयन गर्न सेबोनले ल्यायो अवधारणा पत्र


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयन सम्बन्धी अवधारणा अघि सारेको छ। 

नेपाल सरकार, अर्थ मन्त्रालयबाट भदौ २९ गते जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ अनुसार सेबोनले पुँजी बजार सुधारका लागि मार्जिन ऋण कारोबार नियमावलीलाई अन्तिम रूप दिँदै छ । इन्ट्राडे ट्रेडिङ  कार्यान्वयनको तयारीका लागि सरोकारवाला र लगानीकर्ताको राय सुझाव माग्दै यो अवधारणापत्र सार्वजनिक गरेको हो। 

बोर्डका अनुसार अवधारणा पत्रमा प्रारम्भमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउन सकिने भएता पनि परीक्षण चरणमा प्राप्त अनुभव र जोखिमको मूल्याङ्कनपछि कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव गरेको छ। 

बोर्डका अनुसार प्रारम्भिक चरणमा ‘पहिलो खरिद’ ‘पछि बिक्री’ मोडलमा मात्र कारोबार गर्न अनुमति दिइनेछ।  अर्थात् लगानीकर्ताले कारोबार दिनभित्र कुनै धितोपत्र खरिद गरेपछि सोही दिन मूल्य परिवर्तनका आधारमा बिक्री गरी कारोबार समापन गर्न सक्नेछन् । ‘पहिले बिक्री, पछि खरिद’ गर्ने अभ्यास अर्थात् आवरणयुक्त सर्ट सेलिङका साथै धितोपत्र सापटी तथा उधारोसम्बन्धी व्यवस्था भने तत्काल लागू नगर्ने प्रस्ताव गरिएको छ । यस्ता कारोबारका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार पूर्ण रूपमा तयार भएपछि मात्रै त्यसबारे थप निर्णय गरिने अवधारणा पत्रमा उल्लेख छ ।

अन्तरदिवसीय कारोबारलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनेभन्दा पहिले आवश्यक कानुनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्ता व्यवस्था, ‘ब्रोकर एसओपी’ जोखिमसम्बन्धी जानकारी, मार्जिन/आरएमएस निगरानी तथा प्रविधिगत पूर्वाधार तयार गर्ने र त्यसपछि ‘ ट्रेडिङ  पाइलट’ तथा तयारीको मूल्याङ्कन मार्फत चरणबद्ध रूपमा कार्यान्वयन गर्ने अवधारणा प्रस्तुत गरेको छ। 

अन्तरदिवसीय कारोबारसम्बन्धी विषयमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी र स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको यो अवधारणा पत्रमाथि प्राप्त राय, सुझाव र प्रतिक्रियाहरू समेटेर आवश्यक नियमावली तथा निर्देशिकालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।