साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.३ प्रतिशतले घट्यो


काठमाडौं – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थामा आउने निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेकाे हाे। निक्षेप संकलनमा आएको गिरावटसँगै निक्षेप घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा बैंकिङ प्रणालीको निक्षेप ०.८ प्रतिशत अर्थात् ५५ अर्ब ७९ करोड रुपैयाँले घटेको थियो। यद्यपि, वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.५ प्रतिशतले बढेको छ। साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ७.३ प्रतिशत, ४७.६ प्रतिशत र ३५.६ प्रतिशत रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यी निक्षेपको हिस्सा क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत थियो। यो तथ्यांकले एक वर्षको अवधिमा बचत निक्षेपको हिस्सा बढेको र मुद्दती निक्षेपको हिस्सा घटेको देखाउँछ। कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि ३३.३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा ३५.१ प्रतिशत थियो।