‘डिजिटल फाइनान्स’ विकासका लागि राष्ट्र बैंकले ल्यायो पाँचवर्षे फिनटेक रणनीति


काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्सको विकास तथा फिनटेक क्षेत्रलाई व्यवस्थित र सुरक्षित रूपमा विस्तार गर्ने उद्देश्यले पाँचवर्षे रणनीतिक सार्वजनिक गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको रणनीतिले डिजिटल वित्तीय सेवाको पहुँच तथा प्रयोग विस्तारसँगै फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, वित्तीय समावेशिता र वित्तीय गहिराइ बढाउने तथा डिजिटल वित्तीय सेवाको लागत घटाउने विषयलाई प्राथमिकतामा राखेको छ।

विश्वसनीय, नवीन र समावेशी डिजिटल वित्तीय पारिस्थितिक प्रणालीको विकास गर्दै नेपालमा वित्तीय समावेशिता, वित्तीय गहिराइ, दक्षता तथा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्नु मुख्य उद्धेश्य रहेको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकले रणनीतिका लागि डिजिटल पूर्वाधार विकास, नीति, नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकासलाई प्राथमिकतामा राखिएको छ।