अन्तर बैंक कारोबार ३३ प्रतिशतले घट्यो


काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारमा उल्लेख्य कमी आएको छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूबीच १ खर्ब ४ अर्ब ८६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै, वाणिज्य बैंकहरूबीच बाहेक अन्य वित्तीय संस्थाबीच १४ अर्ब ८५ करोड रूपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ। याेसँगै समिक्षा अवधिमा कुल अन्तर बैंक कारोबार १ खर्ब १५ अर्ब ३७ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूबीच १ खर्ब ५७ अर्ब १८ करोड ६० लाख रूपैयाँ तथा अन्य वित्तीय संस्थाबीच १५ अर्ब १७ करोड ३० लाख रूपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको थियो। सो वर्ष कुल अन्तर बैंक कारोबार १ खर्ब ७२ अर्ब ३५ करोड ९० लाख रूपैयाँ रहेको थियो।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल अन्तर बैंक कारोबार अघिल्लो वर्षको तुलनामा ५६ अर्ब ९८ करोड ९० लाख रूपैयाँले घटेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ३३ प्रतिशतको कमी हो।