अर्थमन्त्री हट्ने हल्लाले सेयर बजारमा बहार, कारोबारमा नयाँ रेकर्ड 

अर्थमन्त्री हट्ने हल्लाले सेयर बजारमा बहार, कारोबारमा नयाँ रेकर्ड 


बैकिङ्ग समाचार ।

अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता नपाउने हल्लाले आइतबार सेयरबजार एक्कासी उच्च स्थानमा पुगेको छ । गत बिहीबार १ हजार ४ सय ३४ दशमलव ५७ बिन्दुमा बन्द भएको नेप्सेसूचक आइतबार ६९ दशमलव ५६ अंक बढेर १ हजार ५ सय ४ दशमलव १४ बिन्दुमा पुगेपछि शेयर बजारमा बहार छाएको छ । ३ पुस ०७४ मा १ हजार ५ सय ५ दशमलव २५ बिन्दुमा बन्द भएपछि नेप्से पुनः त्यो बिन्दुमा पुग्न २६ महिना लाग्यो । 

राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा वामदेव गौतमलाई ल्याउने सहमति नेकपाभित्र भएको भन्ने हल्ला चलेपछि यस्तो भएको ब्रोकरहरु बताउँछन्  । यस्तो अवस्थामा २० फागुनमा राष्ट्रिय सभा सदस्य पद गुमाउने युवराज खतिवडा अर्थमन्त्रीका रूपमा थप ६ महिना मात्रै काम गर्न पाउनेछन् । खतिवडा सेयरबजारमा हुने उच्च वृद्धिप्रति नकारात्मक रहँदै आएको लगानीकर्ताको बुझाइ छ । 

बैंकहरूको ब्याजदर घटेको तथा सजिलै सेयर कर्जा पाइने भएकाले पनि त्यसको प्रभावस्वरूप सेयरबजार बढेको लगानीकर्ता बताउँछन् । आइतबार कारोबारमा भएका १२ उपसमूहमध्ये बैंकिङ ७ दशमलव १५ प्रतिशत बढेको छ । सेन्सेटिभ इन्डेक्स १७ अंक बढेर ३ सय १७ दशमलव ५० बिन्दुमा पुगेको छ । बजार बढेसँगै ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
 
 शेयर कारोबारमा नयाँ रेकर्ड कायम 

आइतबार सेयर कारोबार रकमले समेत इतिहास रचेको छ । यस दिन ३ अर्ब ६० करोड ८५ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । हालसम्म नियमित कम्पनीहरूको यति ठूलो रकम कारोबार भएको थिएन । 

आइतबार कारोबारको आधा घन्टामै ५० करोडभन्दा माथिको सेयर कारोबार भएको थियो । नेप्सेमा पुस २२ गतेदेखि निरन्तर १ अर्बको कारोबार भएको छ । 

सोअघि त्यति रकमको कारोबार ०७६ जेठ १६ गते मात्र भएको थियो । पछिल्लो दुई महिनामा अनलाइन प्रयोगकर्ता बढेर कारोबार रकम बढेको ब्रोकरहरु बताउँछन् । 

आइतबार भएको कुल कारोबारमध्ये ५० प्रतिशत नेप्सेको अनलाइन प्रणालीबाट कारोबार भएको नेप्सेका एक कमर्चारीले बताए ।  यस दिन नेप्सेको वेबसाइट नै २ करोडभन्दा बढीपटक खोलिएको छ । यसअघि करिब १ करोडको हाराहारीमा मात्रै वेबसाइट भिजिट हुने गरेको बताइएको छ । 

अनलाइन प्रयोगकर्ता बढेसँगै कारोबार रकममा वृद्धि आएको उनको भनाइ छ । कारोबार रकम बढेका वेलामा ब्रोकर कम्पनीहरूलाई अर्डर राख्न भ्याइनभ्याइ हुने भएकाले अनलाइनमार्फत कारोबार गर्ने बढेको नेप्सेको बुझाइ छ ।