व्यावसायिक सफलताका लागि वित्तीय साक्षरता अपरिहार्य छ: केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले घरेलु, साना, मझौला तथा उद्यमीहरूलाई वित्तीय साक्षरता र क्षमता अभिवृद्धिमा जोड दिएको छ।  राष्ट्र बैंकले एक वित्तीय सन्देश जारी गर्दै बैंकले व्यवसाय सञ्चालन, विस्तार तथा बन्द गर्ने क्रममा सही वित्तीय ज्ञान, क्षमता, व्यवहार, सोच र अनुशासन हुन आवश्यक रहेको औँल्याएको हो।

राष्ट्र बैंकले व्यवसायीले व्यवसायको योजना, प्राथमिक पुँजी, स्रोत, साझेदारी तथा अन्य विकल्प छनोट गर्न सक्ने क्षमता विकास गर्न आवश्यक छ। साथै, विकल्पको फाइदा–बेफाइदा मूल्यांकन, व्यावसायिक आवश्यकता अनुसार भुक्तानीका माध्यमको छनोट तथा प्रविधिमा आधारित वित्तीय सेवाको प्रयोगमा पनि ध्यान दिन आग्रह गरेको छ।

बैंकले व्यवसाय व्यवस्थापन र वित्तीय योजनालाई पनि महत्त्वपूर्ण पक्षका रूपमा औँल्याएको छ। व्यवसायको प्रकृतिअनुसार आवश्यक दर्ता, अनुमति, कर, छुट, कर्मचारी नियुक्ति, दर्ता खारेजी तथा अन्य कानुनी प्रक्रियाबारे जानकारी राख्नुपर्नेमा जोड दिएको छ।

साथै, व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, दायित्व र लगानीको हिसाबकिताब, वित्तीय विवरण तथा नगद प्रवाह व्यवस्थापनमा प्रविधिको प्रयोग गर्नुपर्ने बैंकको सुझाव छ। अल्पकालीन तथा दीर्घकालीन योजना, बजेट निर्माण, दीर्घकालीन व्यावसायिक विस्तार, ऋण, साझेदारी र पुँजी योजनालाई व्यवस्थित बनाउनुपर्ने पनि उल्लेख गरिएको छ।

बैंकद्वारा जारी विज्ञप्तिमा,‘जोखिम विविधीकरण र बीमालाई समेत व्यवसायको महत्त्वपूर्ण अङ्ग मानिएको छ। उद्यमी तथा कर्मचारीसँग सम्बन्धित जोखिम व्यवस्थापन, आकस्मिक योजना र व्यक्तिगत बीमाका साथै व्यवसायमा आउन सक्ने वित्तीय तथा व्यावसायिक जोखिम, सम्पत्तिको जोखिम र विविधीकरण तथा निर्जीवन बीमाको प्रयोगमा ध्यान दिन आग्रह गरिएको छ।’

राष्ट्र बैंकले वित्तीय परिदृश्यमा आर्थिक, राजनीतिक, सामाजिक तथा प्रविधिगत परिवर्तन, प्रतिस्पर्धा र नियमनलगायत बाह्य प्रभावले व्यवसायको बजार, आम्दानी र खर्चमा पार्ने असरलाई बुझेर व्यावसायिक रणनीति सुधार तथा नवप्रवर्तन गर्नुपर्नेमा जाेड दिएकाे छ।