काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
बैंकहरुले यसका लागि साउन १८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १९ अर्ब ३५ करोड २ लाख , राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ६२ करोड ८१ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २० करोड ९३ लाख मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने केन्द्रीय बैंकले समय समयमा निर्धारण गरे बमोजिमको न्यूनतम कुल पुँजीकोष अनुपात कायम गरेको हुनुपर्नेछ । निष्कृय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।
यस्तै, खुद तरल सम्पत्ति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको, बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारवाहीमा परेको भए यस्तो कारवाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने जनाएको छ ।







About Us
प्रतिक्रिया