काठमाडौँ – कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले नाफामा उल्लेख्य सुधार गर्दै ३३.५१ प्रतिशतले नाफा बढाएको हो। यो विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो। जुन, गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा २३ करोडले कम हो।
नाफामा आएको वृद्धिसँगै बैंकका शेयरधनीहरूको प्रतिशेयर आम्दानी पनि ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार
बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ थियो। त्यस्तै, सञ्चालन मुनाफामा पनि ३२.८७ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ।
यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज (सम्भावित जोखिम व्यवस्थापन खर्च) ४१ करोड ८१ लाख रुपैयाँबाट उल्लेख्य रूपमा घटेर १३ करोड ६५ लाख रुपैयाँमा कायम हुँदा बैंकको नाफा बढेकाे हाे ।
शेयरधनीलाई १५.१६ प्रतिशतसम्म लाभांश दिन सक्ने
असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकले आफ्ना शेयरधनीहरूलाई १५.१६ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता बनाएको छ। वित्तीय सूचकहरू सकारात्मक रहे पनि बैंकको खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ३.७७ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख र जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख सञ्चित छ। व्यवसाय विस्तारतर्फ बैंकले कुल ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ।






About Us
प्रतिक्रिया