नयाँ आर्थिक वर्षलाई शेयर बजारको हरियो झण्डा: परिसूचक ७९.७४ अंकले बढ्दा ४ अर्ब बढीकाे काराेबार


काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेप्से भारी अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले बढेर बजार २६ सय ७७ दशमलव ५४ को विन्दुमा बन्द भएको छ। आज २५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १४ शेयर मूल्य भने स्थिर देखिएको छ।

आज दिनभरिमा कारोबारमा आएका ३३५ कम्पनीको १ करोड कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनीङ मिल्सको १४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले १४.८३ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन्।