काठमाडौं – नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सर्कुलर नै ल्याएर मार्जिन कर्जामा लचक बनेको हो । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको शेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।
यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षणवापत राखिने शेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ । सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि संस्थाको सबलता मूल्यांकन गर्ने विधि अवलम्बन गर्नुपर्ने जनाइएको छ । सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा मूल्य अनुपातमा बढीमा १० प्रतिशतविन्दुसम्म थप गर्न सकिने गरी विधि निर्धारण गर्नुपर्ने जनाएको छ । चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएको समेत उल्लेख गर्नुपर्ने छ ।
यस्तो प्रडक्ट पेपर संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्ने उल्लेख छ । एकपटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको शेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने उल्लेख छ ।






About Us
प्रतिक्रिया