काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल २०८३ असार २५ र २६ गते भुटानको पारोमा आयोजित ‘४९ औं सार्क फाइनान्स गभर्नर समूह बैठक’ मा सहभागी भएका छन् । बैठकको पहिलो दिन भुटानका अर्थमन्त्री ल्यान्पो लेके दोर्जीले उद्घाटन मन्तव्य र रोयल मनिटरी अथोरिटी अफ भुटानका गभर्नर याङ्चेन सोग्यलले स्वागत मन्तव्य राखेका थिए ।
बैठकका क्रममा ‘डिजिटल भुक्तानी आबद्धता र नवीनतामार्फत क्षेत्रीय वित्तीय एकीकरणलाई अघि बढाउँदै’ विषयमा प्यानल छलफल भएको थियो । सो छलफलमा गभर्नर पौडेलसँगै भुटान र श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर र रिजर्व बैंक अफ इन्डियाका डेपुटी गभर्नर सहभागी थिए । सो अवसरमा गभर्नर पौडेलले पछिल्लो समय नेपालमा भएका विद्युतीय भुक्तानी प्रणालीको विकास र अन्दरदेशीय भुक्तानीमा भएका प्रयासबारे जानकारी दिए ।
बैठकको दोस्रो सत्रमा सहभागी केन्द्रीय बैंकका प्रतिनिधिका तर्फबाट ‘सीमापार भुक्तानी अन्तर(सञ्चालन क्षमता अभिवृद्धिमा सहजकर्ता र चुनौतीहरू’ विषयमा प्रस्तुति दिइएको थियो । सो क्रममा राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले नेपालको अन्तरदेशीय भुक्तानीको स्थितिबारे प्रस्तुति दिए ।
बैठकको दोस्रो दिन सार्कफाइनान्स गभर्नरहरूको समूह बैठक सम्पन्न भयो । सो अवसरमा सार्क क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर र अन्य प्रतिनिधिको सहभागिता थियो । बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले हाल नेपालमा राजनीतिक स्थायित्व कायम रहेको उल्लेख गर्दै बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्वको अवस्था सबल रहेको जानकारी दिए । तथापि, अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभावका कारण मूल्यस्थितिसँगै समग्र अर्थतन्त्रमा चुनौती कायमै रहेको उनको भनाइ थियो
बैठकमा सहभागी अन्य केन्द्रीय बैंकका प्रतिनिधिका तर्पmबाट आ–आफ्नो मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिइएको थियो । बैठकका क्रममा सार्क क्षेत्रमा अन्तरदेशीय भुक्तानी प्रणालीको सबलीकरणका निम्ति सहभागी गभर्नरहरूले जोड दिएका थिए । बैठकमा सार्क क्षेत्रमा जलवायु लगानी तथा दिगो विकास, वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को ढाँचा, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
बैठकका दौरान गभर्नर पौडेलले भुटानका अर्थमन्त्री दोर्जीसँग अलग्गै भेटवार्ता गरेका थिए । बैठकमा सहभागी भई गभर्नर पौडेल असार २८ गते स्वदेश फर्किए । बैठकमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, गभर्नरको कार्यालयका निर्देशक शरण कुमार अधिकारी र उप–निर्देशक स्वेच्छा शाक्यसमेत सहभागी थिए ।
सार्कफाइनान्स दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो । सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा सार्कफाइनान्सको स्थापना भएको थियो । सन २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले सार्कफाइनान्सलाई औपचारिक मान्यता दिएको थियो ।






About Us
प्रतिक्रिया