काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ २३ र २४ को जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल कमजोर भई व्यवसाय विस्तार हुन नसक्दा समष्टिगत मागमा दबाब सिर्जना भएको जनाएको छ । राष्ट्र बैंकले चालु आथिर्एक वर्ष आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनमा देखिएका चुनौतीहरूमा जेनजी आन्दोलनलाई पनि देखाएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका क्रममा अर्थतन्त्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरेको छ ।
विश्व भूराजनीतिले निम्त्याएको व्यापार महसुलको प्रभाव, इजरायल– अमेरिका र इरानबीचको युद्धका कारण पेट्रोलियम पूर्वाधारमा भएको क्षति, स्ट्रेट अफ हर्मुज बन्द भई आपूर्ति श्रृंखलामा देखिएको अवरोध तथा इन्धनकोमूल्य वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको चापका कारण निरन्तर अनिश्चितता देखिएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा ढिला भित्रिएको मनसुन तथा असोज महिनामा भएको अधिक वर्षाका कारण कृषि उत्पादनमा आएको कमी, जेनजी आन्दोलनले समष्टिगत मागमा दबाब सिर्जना गरेको केन्द्रीय बैंकको दावी छ । यता, वैदेशिक व्यापारमा कमी, सार्वजनिक एवम् निजी निर्माणमा सुस्तता, घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता जस्ता विषयहरूमा देखिएका अन्यौल आदिले समेत वित्तीय प्रणालीबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसक्नुलाई पनि मौद्रिक नीति कार्यान्वयनमा देखिएका चुनौतीका रुपमा लिएको छ ।
आर्थिक गतिविधि अपेक्षित विस्तार नभएको एवम् विगतमा प्रवाह भएका कर्जाको गुणस्तर समेतका कारण निष्क्रिय कर्जा अनुपात वृद्धि भई बैंकको लगानी क्षमतामा ह्रास आइरहेको केन्द्रीय बैंकले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । विप्रेषण आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँंदै जाने तर, कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापनमा समस्या आएको केन्द्रीय बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया