बैंकको संचालक, सीईओदेखि व्यवस्थापन तहका कर्मचारी नियुक्तिमा राष्ट्र बैंकको कडाई


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं उच्च व्यवस्थापकीय तहमा नियुक्तिलाई कडाई गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै संचालक, सीईओ एवं उच्च व्यवस्थापकीय तहमा नियुक्तिलाई कडाई गरेको हो ।

अबदेखि बैंक तथा वित्तीय संस्थाले संचालक, सीईओ एवं उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा विभिन्न विवरण लिनुपर्ने भएको हो । त्यस्तो विवरण राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्नेछ । बैंकहरुले अबदेखि सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा गर्नुपर्ने छ । यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख गरेको छ ।

यदि भएको भए सोको विवरण, अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा, स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा, स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा, विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण, वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण पेश गर्नुपर्नेछ ।

यता, निर्देशन जारी हुँदा बहालमा रहेका संचालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहको पदाधिकारीको हकमा विवरण राष्ट्र बैंक समक्ष पेश गर्नुपर्नेछ । विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिएर राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्नेछ ।