काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि ५०० दरको बैंकनोट प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि रुपैयाँ ५०० दरको बैंकनोट प्रचलनमा ल्याउने बताएको हो । राष्ट्र बैंकले रुपैयाँ ५०० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको हो ।
जुन नयाँ नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया’ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख छ । नोटको बायातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँत लालीगुराँसको पानी छाप रहेको र तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको छ भने पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेका छन् ।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको केन्द्रीय बैंकले जनाएको छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नोटमा ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको छ ।
यस्तै, नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाघको चित्र र सोको माथि नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको तल्लो खण्डमा ‘रुपिज फाइभ हन्ड्रेड’ र सिरिज नम्बर ‘एडी’ लेखिएको छ ।





About Us
प्रतिक्रिया