रेमिट्यान्स आप्रवाह ४१ प्रतिशतले बढ्यो, १० महिनामा सवा १९ खर्ब भित्रियो


काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रूपैयाँ बराबरको विप्रेसण पठाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो। गत वैशाख महिनामा विप्रेषण आप्रवाह दुई खर्ब ५७ अर्ब ४९ करोड रूपैयाँ रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ६५ अर्ब ३० करोड रूपैयाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो।