विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, साढे २२ महिनाको वस्तु आयात धान्ने


काठमाडौं – विदेशी मुद्राको सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेकाे छ। २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ बैशाख मसान्तमा ३७०४ अर्ब ५५ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकले देखाएकाे हाे।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २४ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा २४ अर्ब १९ करोड डलर पुगेको छ।

राष्ट्र बैंकका अनुसार वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत पुगेको छ। २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।