काठमाडौं – नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्घाटन भएको छ। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट आतिथ्ययतामा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभा हलमा आयोजित कार्यक्रमबीच उक्त तालिमको समुद्घाटन भएको हो।
कार्यक्रममा गभर्नर पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्त्वपूर्ण रहेको बताए। यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उनले बताए।
सो अवसरमा महानिरीक्षक कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको बताए। प्रहरीले हुण्डी कारोबार, सङ्गठित अपराध, मानव बेचबिखन तथा लागू औषध ओसारपसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण सङ्कलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको उनले बताए।
कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको उल्लेख गरे। साथै तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले तालिमको महत्त्व सम्बन्धी जानकारी दिएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतङ्ककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ।
वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ। ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ।






About Us
प्रतिक्रिया