मोबाइल नम्बर परिवर्तन भए तत्काल बैंकलाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर परिवर्तन भए तत्काल बैंकलाई जानकारी गराउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै मोबाइल नम्बर परिवर्तन भए वित्तीय सेवा प्रदायकलाई समयमै सूचित गराउन भनेको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् । जसमा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन् । त्यसैले कुनै पनि कारणवश मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

‘आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईंको खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ ।’ केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘तसर्थ, जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस् ।’

राष्ट्र बैंकले मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न भनेको छ ।