बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा ६५ करोड लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा ६५ करोड लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर सहित प्रस्ताव पेश गर्न भनेको छ । केन्द्रीय बैंकले ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई आगामी ३१ गतेसम्म गरी ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५२ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ९ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३ करोड २५ लाख लगानी गर्नेछ । यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ भने बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।

बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने उल्लेख छ ।