बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले जम्मा ७ अर्ब ३० करोड लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले रकम लिनका लागि ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । साथै उक्त ७ अर्ब ३० करोडमा वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड राष्ट्रिय स्तरका विकास बैंकमा १ अर्ब ९ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३६ करोड ५० लाख लगानी गर्न लागेको हो ।

निक्षेप लिन चाहेको बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको हुनुपर्नेछ । निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाव अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

ब्याजदर प्रस्ताव गर्दा एक भन्दा बढी दर उल्लेख गर्न पाइने छैन भने तोकिएको मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबै भन्दा बढी ब्याजदर कवोल गर्ने संस्थामा प्रस्तावित रकम लगानी गरिने भएपनि समान उच्च ब्याजदर प्रस्ताव गर्ने संस्थाको संख्या दुई वा दुई भन्दा बढी भएको अवस्थामा कोषको लगानी नीतिमा तोके बमोजिमको प्रकृया पूरागरी लगानी गरिने संस्था छनौट गरिने केन्द्रीय बैंकले जनाएको छ ।