बोनस शेयरबाट लगानीकर्तालाई लाभ: नेप्सेमा एक वर्षमा २३ अर्बको लाभांश सूचीकृत


काठमाडौं –चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७५ वटा कम्पनीको करिब २३ अर्ब बोनस शेयर सूचीकृत भएको छ। नेपाल धिताेपत्र बोर्ड (सेबाेन) अन्तर्गतको नियमन तथा व्यवस्थापन विभागले सार्वजनिक गरेको विवरणअनुसार साउन १२ गतेदेखि चैत २२ गतेसम्म कुल ७५ वटा कम्पनीका २२ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ बराबरका बोनस शेयर सूचीकृत भएका छन्।

यस अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २२ करोड ९७ लाख ७७ हजार कित्ता बोनस शेयर सूचीकरण भएको हो। सूचीकृत बोनस शेयरहरू विभिन्न १० क्षेत्रका कम्पनी अन्तर्गत छन्। जसमा वाणिज्य बैंक र विकास बैंकबाट समान रूपमा ८/८ कम्पनी रहेका छन् भने लघुवित्त क्षेत्रमा सबैभन्दा बढी १८ कम्पनी छन्।

त्यस्तै, बीमा क्षेत्रमा १३ कम्पनी, जलविद्युत् क्षेत्रमा १५ कम्पनी, अन्य क्षेत्रमा २ कम्पनी, होटल क्षेत्रमा १ कम्पनी, उत्पादनमूलक क्षेत्रमा ३ कम्पनी तथा इन्भेष्टमेन्ट समूहअन्तर्गत ७ कम्पनी छन्।