गण्डकी – पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाले जनाएको छ। महानगरको भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद गौतमले इलेक्ट्रिकलतर्फको मात्र काम बाँकी रहेको बताए।
दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा ल्याउने तयारी छ। भूमिगत पार्किङसहितको उक्त भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरीलगायत रहने जनाइएको छ। ‘पहिलो तलामा कोसेली घर सञ्चालनका लागि ठेक्का आह्वानसमेत भइसकेको छ’, इन्जिनियर गौतमले भने,‘पोखराको स्थानीय उत्पादन र सामग्री कोसेली घरमा रहनेछन्।’
पहिलो तलामै एकीकृत सूचना केन्द्रसमेत रहनेछ। जहाँ पोखराको पर्यटनसँग सम्बन्धित समग्र क्षेत्रका सूचना उपलब्ध हुने जनाइएको छ। दोस्रो तलामा सार्वजनिक पुस्तकालय रहनेछ। यसअघि महेन्द्रपुलमा रहेको पोखरा सार्वजनिक पुस्तकालय अबदेखि ‘पोखरा घर’बाट सञ्चालन हुने भएको हो। तेस्रो तलामा आर्ट ग्यालरी रहनेछ। सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर गौतमले जानकारी दिए।
‘पोखरा घर’ पर्यटकका लागि गन्तव्यस्थल बन्ने विश्वास लिइएको छ। पाँच करोड एक लाख ४६ हजार रुपैयाँ लागतमा बनेको यस अपाङ्गमैत्री भवनमा लिफ्टकोसमेत सुविधा रहने जनाइएको छ। ‘पोखरा घर’लाई परम्परागत वास्तुकलासहित आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ। यसअघि महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी पनि अबदेखि ‘पोखरा घर’बाट सञ्चालन हुने महानगरले जनाएको छ।



About Us
प्रतिक्रिया