काठमाडौं – नेपाल राष्ट्र बैंकले घरजग्गा (रियल स्टेट) कारोबारको प्रवृत्ति बुझ्न र यस क्षेत्रको वस्तुनिष्ठ विश्लेषण गर्न त्रैमासिक रूपमा तथ्याङ्क प्रकाशन सुरु गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर यो नयाँ अभ्यासको थालनी गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंक आफैँले सङ्कलन गर्ने तथ्याङ्कलाई एकीकृत गरी यो प्रतिवेदन तयार पारिने जनाएको छ।
केन्द्रिय बैंकको विश्लेषणका अनुसार नेपालको घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ। वर्षको पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमास (फागुनदेखि असारसम्म) मा कारोबार उच्च हुने प्रवृत्ति देखिएको छ।
प्रदेशगत अवस्था: मधेशमा सङ्ख्या धेरै, बागमतीमा मूल्य उच्च
तथ्याङ्क अनुसार कारोबार सङ्ख्या र क्षेत्रफलका आधारमा मधेश प्रदेश मुलुककै अग्रस्थानमा देखिएको छ। मधेशपछि लुम्बिनी र कोशी प्रदेशमा धेरै कारोबार हुने गरेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ। यद्यपि, कारोबारको घोषित मूल्य (थैली रकम) का आधारमा भने बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ।
अधिकांश प्रदेशहरूमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरूको कारोबार बढी हुने गरेको छ। मधेश प्रदेशमा २० आनाभन्दा माथिका ठूला प्लटहरूको कारोबार बढी देखिन्छ। सहरी क्षेत्रमा महानगर र उप-महानगरपालिकाहरूमा ५ देखि १० आनाका प्लटहरूमा ग्राहकको बढी आकर्षण देखिएको छ।
केन्द्रिय बैंकका अनुसार पछिल्ला वर्षहरूमा घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको अवधिमा घरजग्गा कर्जामा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जामा ६१.५५ प्रतिशतको वृद्धि छ ।
राजस्वको हकमा आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड पुगेको राजस्व बीचमा घटेर ८ अर्ब २० करोडमा झरेको थियो। तर, हाल यसमा सुधार आई २०८१/८२ मा करिब र१५ अर्ब पुगेको छ। यो तथ्याङ्कले रियल इस्टेट क्षेत्रको वास्तविक गतिविधि आकलन गर्न सहयोग पुग्ने केन्द्रिय बैंकले जानकारी दिएको छ । यसैका आधारमा आगामी दिनमा ‘घरजग्गा मूल्य सूचकाङ्क’ निर्माण र प्रकाशन गर्ने तयारीसमेत भइरहेको उल्लेख छ।



About Us
प्रतिक्रिया