मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा 


काठमाडौं – काठमाडौंकाे बुढानीलकण्ठबाट हराएको एउटा मोटरसाइकलसहित चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। बुढानीलकण्ठ नगरपालिका–११ स्थित आनी गुम्बा क्षेत्रबाट बागमती प्रदेश–०२–०५४ प ६९८८ नम्बरको निलो रङको २५० सीसीको केटीएम ड्युक मोटरसाइकल हराएको भन्दै सवारी धनीले उजुरी दिएका थिए। 

सोही निवेदनका आधारमा खोजी कार्यमा खटिएको ट्राफिक प्रहरी टोलीले शनिवार बिहान पुरानो बानेश्वर सडक खण्डमा उक्त मोटरसाइकल फेला पारेको हो। पक्राउ पर्ने समयमा चोरीमा संलग्न व्यक्तिले वास्तविक नम्बर प्लेट परिवर्तन गरी मधेस प्रदेश–०१–००३ प ४२९६ नम्बर राखेर चलाइरहेका थिए।

शङ्का लागेर जाँच गर्दा मोटरसाइकल चोरीको पुष्टि भएपछि प्रहरीले सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।