सार्वजनिक बिदाका दिन पनि कर कार्यालय र बैंकहरू खुलाः दोस्रो किस्ता बुझाउन सहजीकरण


काठमाडौं – सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे तापनि कर संकलन र राजस्व व्यवस्थापनका लागि कर कार्यालय तथा बैंकहरू आज खुला रहेका छन्। चैत मसान्त अर्थात् ‘क्वाटर एण्ड’ (त्रैमासिक अन्त्य) नजिकिएसँगै करदाताको सहजताका लागि अर्थ मन्त्रालयले यस्तो व्यवस्था गरेको हो।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार विशेषगरी आयकरको दोस्रो किस्ता बुझाउने समय चैत मसान्तसम्म रहेकाले करदातालाई अन्तिम समयमा चाप नपरोस् भन्नका लागि बिदाका दिन पनि सेवा सुचारु राखिएको हो। ‘यो क्वाटर इण्डको समय हो। करदातालाई दोस्रो किस्ता बुझाउन सहज होस् भनेर हामीले बैंक र कर कार्यालयहरू खुला राख्ने निर्णय गरेका हौँ,’ प्रवक्ता पाण्डेयले भने।

राजस्व संकलनसँग प्रत्यक्ष जोडिएका सरकारी निकायहरू आज पूर्ण वा आंशिक रूपमा काममा जुटेका छन्।आन्तरिक राजस्व विभाग अन्तर्गतका ठूला करदाता कार्यालय र विभिन्न शाखाहरू खुला छन्। भन्सार कार्यालयहरूका भन्सार जाँचपास र राजस्व बुझाउने प्रक्रियाका लागि भन्सार कार्यालयहरू पनि सुचारु छन्।

राजस्व संकलन गर्ने बैंकका शाखाहरू खुला राखिएका छन्। चैत मसान्तमा आयकरको दोस्रो किस्ता बुझाउनुपर्ने कानुनी प्रावधान छ। बिदाको दिनमा पनि कार्यालय खुला भएपछि व्यवसायी तथा करदाताहरूलाई जरिवानाबाट बच्न र समयमै कर चुक्ता गर्न सजिलो भएको छ। अन्तर्राष्ट्रिय व्यापार र राजस्वसँग सम्बन्धित कामहरू नरोकियोस् भन्नका लागि बैंकहरूसँगको समन्वयमा कार्यालयहरू खुला गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।