फरवार्ड माइक्रोफाइनान्सले बोलायो १३ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीलाई १३औँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाले सो सभा आगामी वैशाख २१ गते बोलाएको हो।

संस्थाको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभा हलमा सभा बस्ने निर्णय गरेको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सो सभामार्फत सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ। त्यस्तै, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन र मनोनयन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, संस्थाको हाल कायम पुँजी वृद्धि योजनाका साथै हाल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण रहेको शेयर संरचनालाई परिवर्तन गरी संस्थापकतर्फबाट १० प्रतिशत घटाएर नयाँ संरचना ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण कायम गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, यसका लागि वैशाख ७ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहने संस्थाले जनाएको छ। उक्त सभामा सहभागी हुनका लागि आगामी वैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई नियमानुसार शेयर नामसारी भइसकेका शेयरधनीहरू योग्य हुनेछन्।