अन्ततः लागू हुने भयो एनसेलले ल्याएको सब्स्क्रिप्सन मोडल


काठमाडौं – सरकारले अन्तत: मोबाइल डेटा सेवा प्रयोगमा नयाँ प्रावधान लागू गर्ने भएको छ। अब जति प्रयोग गर्‍यो, त्यति शुल्क तिनुपर्ने ‘पे–एज–यू–गो’ मोडल विकल्पका रूपमा राख्न बाध्यकारी बनाइएको छ।

यसका साथै सब्स्क्रिप्सनमा आधारित मोडलमा जाने नीति अघि सारिएको हो। यसले प्रयोगकर्तालाई निश्चित शुल्कमा निश्चित अवधिसम्म इन्टरनेट प्रयोग गर्न सहज बनाउनेछ।

निजी क्षेत्रको सेवा प्रदायक एनसेलले यो मोडल दुई वर्षअगाडि नै सधैँ अन अर्थात् सधैँ अनलाइन रहन प्रोत्साहन गर्दै अवलम्बन गरेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमा आपत्ति पनि जनाएको थियो। अब एनसेलले बजार र सेवाको महत्व हेरेर अवलम्बन गरेको त्यही मोडललाई नै सरकारले लागू गर्ने भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको प्राथमिकता कार्यसूचीअनुसार, मोबाइल डेटा प्रयोगलाई अझ पारदर्शी र उपभोक्तामैत्री बनाउन विभिन्न सुधारका उपायहरू अघि सारेको छ। तीमध्ये मुख्य रूपमा डेटा खपत ९० प्रतिशत पुगेपछि प्रयोगकर्तालाई सूचना पठाउने, पे–एज–यू–गो सेवा निष्क्रिय गर्ने विकल्प उपलब्ध गराउने र सब्स्क्रिप्सन मोडललाई संस्थागत रूपमा लागू गर्ने योजना समावेश छ।

सरकारको नीतिलाई अवलम्बन गरेर नेपाल टेलिकमले बुधबारबाट पे–एज–यू–गोलाई विकल्पका रुपमा राख्न थालेको छ। जुन एनसेलले पहिलाबाटै प्रदान गर्दै आएको थियो।

एनसेलको ‘सधैँ अन’ नाम दिइएको त्यो सब्स्क्रिप्सन मोडलको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डरविना डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको थियो। यसले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्‍याउने बताइएको थियो। सस्तोमा डेटा सेवा प्रदान गर्नका लागि बजारमा प्याकको अवधारणा लागू गर्ने पहिलो कम्पनी पनि एनसेल नै थियो।

किन आवश्यक भयो नयाँ मोडल?
पे–एज–यू–गो प्रणालीमा डेटा प्याक सकिएपछि स्वतः महँगो दरमा इन्टरनेट चल्ने हुँदा धेरै प्रयोगकर्ता अनावश्यक खर्चको मारमा पर्दछन्। विशेषगरी, सूचना नपाएर ब्यालेन्स कट्ने समस्या व्यापक गुनासोको विषय बनेको थियो। यही अवस्थालाई सुधार गर्न सरकारले सब्स्क्रिप्सन मोडललाई प्राथमिकतामा राखेको हो।

टेलिकम क्षेत्रका जानकारहरूका अनुसार, यो मोडलले प्रयोगकर्तालाई खर्चको पूर्वानुमान गर्न सजिलो बनाउनेछ भने सेवा प्रदायक कम्पनीहरूलाई पनि स्थिर आम्दानी सुनिश्चित गर्न मद्दत पुग्नेछ। पे यज यू गो नचलाउनका लागि ग्राहकले प्याक लिनुपर्ने हुन्छ जुन साधारणतया चलाइने मोबाइल इन्टरनेटभन्दा प्याकको आकारका आधारमा धेरै किफायती हुन्छ।

सब्स्क्रिप्सन मोडल कस्तो हुन्छ?
सब्स्क्रिप्सन मोडलमा प्रयोगकर्ताले मासिक, साप्ताहिक वा अन्य निश्चित अवधिका लागि निश्चित शुल्क तिरेर डेटा सेवा प्रयोग गर्न सक्ने हुन्छन्। यसमा डेटा प्याकबाहेक सामान्यतया डेटा, भ्वाइस कल र एसएमएससमेत समेटिएका कम्बो प्याकहरू उपलब्ध हुन्छन्।

यसले प्रयोगकर्तालाई अनियन्त्रित खर्चको जोखिमबाट जोगाउने मात्र होइन, सेवाको प्रयोगलाई पनि व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीहरुले थप सेवा सुविधाहरु पनि प्रदान गर्न सक्छन्।