सर्वाधिक उडान गर्नेमा एयर अरेबिया, कतार एयरवेजको उडान सबैभन्दा बढी प्रभावित

मध्यपूर्वको तनावबीच कस्तो रह्यो एक महिनाको अन्तर्राष्ट्रिय उडान ?


काठमाडौं – मध्यपूर्वमा जारी तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने यात्रु आवागमन प्रभावित देखिन्छ। मार्चदेखि अप्रिल ५ सम्मका अवधिमा अन्तर्राष्ट्रिय उडान, यात्रु आवागमन तथा कार्गो ढुवानीमा उल्लेख्य उतारचढाव देखिएको छ। एयर अरेबिया, फ्लाई दुबई, हिमालय एयरलाइन्स, कतार एयरवेज र नेपाल एयरलाइन्सलगायतका वायुसेवाहरूको तथ्यांकले सुरुवाती दिनहरूमा व्यापक अवरोध भए पनि पछिल्ला दिनमा क्रमशः सुधार आएको देखाएको छ। 

फेब्रुअरी २८ देखि मार्च ३ सम्म सबै उडान पूर्ण रूपमा रद्द भएका थिए । यसले अन्तर्राष्ट्रिय हवाई आवागमनमा एक प्रकारको ठप्प प्रायः नै थियो। एयर अरेबियाले उक्त अवधिमा कुल ८१ उडान सञ्चालन गर्दा ११ उडान रद्द गरेको छ। यस अवधिमा २३ हजार ५ सय ७० यात्रु आवागमन भएको छ। जसमा १३ हजार ४० आगमन र १० हजार ५३० प्रस्थान गरेका थिए। कार्गोतर्फ ८ हजार ६४२ भित्रिएको र १७ हजार ८२२ बाहिरिएको छ।

मार्च ४ मा सबै उडान रद्द भए पनि त्यसपछि क्रमशः उडान संख्या बढ्दै गएको देखिन्छ। मार्च १० देखि १४ सम्म दैनिक उडान सञ्चालन भएका छन् भने मार्च १६ पछि कार्गो ढुवानी पनि उल्लेख्य रूपमा बढेको छ। उदाहरणका लागि, मार्च १६ मा अबुधाबी–काठमाडौं–अबुधाबी उडानमा ६५४ कार्गो भित्रिएको थियो भने मार्च १७ मा शारजाह–काठमाडौं–शारजाह उडानमा ९९० कार्गो भित्रिएको देखिन्छ। अप्रिल ४ मा एउटै दिन दुई फरक उडानमार्फत १ हजार ५२० कार्गो इन र १ हजार ६५१ कार्गो बाहिरिएको छ।

फ्लाई दुबईले ६८ उडान सञ्चालन गर्दा ३५ उडान रद्द गरेको छ। कुल १९ हजार ९८९ यात्रु आवागमन भएको छ, जसमा १० हजार २१ आगमन र ९ हजार ९६८ प्रस्थान छन्। कार्गोतर्फ ९ हजार २५९ इन र १२ हजार १२२ बाहिरिएको छ। मार्च ७ र ९ मा सबै उडान रद्द भएका थिए भने मार्च १६ मा ड्युटी आवरसम्बन्धी कारणले एक उडान प्रभावित भएको उल्लेख छ। मार्च १७ पछि उडान क्रमशः नियमित बन्दै गएको छ। 

हिमालय एयरलाइन्सले ४३ उडान सञ्चालन गर्दा ३२ उडान रद्द गरेको छ। यस अवधिमा ७ हजार ४६७ यात्रु आवागमन भएको छ। यसमा ३ हजार ७८४ आगमन र ३ हजार ६८३ प्रस्थान छन्। कार्गोतर्फ ८०५ इन र १ हजार ६७९ बाहिरिएको छ। मार्च ४ देखि ७ सम्म सबै उडान रद्द भएका थिए भने मार्च ८ पछि आंशिक रूपमा उडान सुरु भए पनि दोहा र दमाम सेक्टरमा निरन्तर रद्द देखिएको छ। मार्च १९ पछि दुबई सेक्टरमा उडान नियमित बन्दै गएको छ।

कतार एयरवेजले ६८ उडान सञ्चालन गर्दा ४८ उडान रद्द गरेको छ। यस अवधिमा २१ हजार ५३४ यात्रु आवागमन भएको छ, जसमा ११ हजार ४३९ आगमन र १० हजार ९५ प्रस्थान छन्। कार्गोतर्फ २९ हजार ३९८ इन र २ लाख ४ हजार ६१ बाहिरिएको छ। मार्च ४ देखि १५ सम्म प्रायः सबै उडान रद्द भएका थिए। मार्च १६ पछि उडान सुरु भएसँगै यात्रु र कार्गो दुवैमा तीव्र वृद्धि देखिएको छ । विशेष गरी मार्च १७ मा ९ हजार ८८१ कार्गो आउट, मार्च २३ मा १२ हजार ४९३ कार्गो आउट र अप्रिल १ मा ११ हजार ८४ कार्गो बाहिरिएको देखिन्छ।

नेपाल एयरलाइन्सले ४६ उडान सञ्चालन गरेको छ र कुनै पनि उडान रद्द भएको छैन। यस अवधिमा २ हजार ३४३ यात्रु आवागमन भएको छ, जसमा १ हजार २८६ आगमन र १ हजार ५७ प्रस्थान छन्। कार्गोतर्फ ५ हजार २६३ इन र १५ हजार ८५२ बाहिरिएको छ।

मार्च ११ पछि दुबई सेक्टरमा यात्रु देखिन थालेका छन् भने मार्च २५ देखि २८ बीच यात्रु संख्या उल्लेख्य रहेको छ। अप्रिल ३ मा काठमाडौं–दुबई उडानमार्फत ७ हजार १९३ कार्गो बाहिरिएको छ। यस अवधिमा अप्रिल ५ मा जजिरा एयरवेजले चार्टर उडान सञ्चालन गर्दै २४४ यात्रु र ८७० कार्गो इन ढुवानी गरेको छ। सुरुका दिनहरूमा देखिएको अवरोधपछि मध्य मार्चबाट अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सामान्य बन्दै गएको देखिन्छ।