ओली र लेखकलाई आजै हाजिरी जमानीमा छोड्ने तयारी


काठमाडौं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनीहरूलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको हो। 

उनीहरूलाई आजै (बिहीबार) रिहा गरिने उनले बताए। बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो। 

उनीहरूलाई यही १४ गते पक्राउ गरिएकाे थियाे। उनीहरू विरुद्ध भदौ २३/२४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ। उनीहरूलाई यसअघि ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज छाड्ने निर्णय भएको हो।