शङ्कास्पद वित्तीय विवरण छानबिन गर्न सेबाेनले ल्यायो आईपीओमा नयाँ मापदण्ड


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) का लागि पेस गरिने वित्तीय विवरणको पुनरावलोकन तथा जाँचबुझलाई व्यवस्थित गर्न ‘प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पेस भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी नयाँ मापदण्ड, २०८२’ जारी गरेको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० अन्तर्गत बोर्डलाई प्राप्त विशेषाधिकार प्रयोग गर्दै उपदफा (१) को खण्ड (च) बमोजिम संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेस गरेका आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकताअनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउने व्यवस्था रहेको सो मापदण्ड आगामी वैशाख १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ। 

बोर्डले हालै तयार पारेको मापदण्डअनुसार आईपीओ निष्कासनका लागि आवेदन दिने संगठित संस्थाको विगत तीन आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण भएको विवरण तथा अन्तरिम अवधिको प्रमाणित अपरिष्कृत विवरणको आधारमा निश्चित अवस्थाहरूमा पुनरावलोकन वा जाँचबुझ गरिनेछ ।

त्यसैगरी विशेष क्षेत्रगत मापदण्डअनुसार पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण भएको वा अपरिष्कृत वित्तीय विवरणमा संगठित संस्थाको बिक्री आम्दानीको ७५ प्रतिशतभन्दा बढी रकम व्यापारिक प्राप्य वा सोही प्रकृतिका शीर्षकमा देखिएमा, पछिल्लो तीन आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरणमा उल्लेखित औषत व्यापारिक आम्दानी वा प्रत्यक्ष खर्चको कम्तीमा ३० प्रतिशत भन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोबार (सरकारी निकाय बाहेक) रहेको देखिएमा पनि विस्तृत जाँचबुझ गरिनेछ 

त्यस्तै, पछिल्लो लेखा परीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा कुल नाफा अनुपात त्यस अघिको दुई आर्थिक वर्षको औषतको तुलनामा ३० प्रतिशत भन्दा बढी फरक परेको देखिएमा, पछिल्लो लेखा परीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा व्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको व्याज खर्च, ब्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रूपमा फरक रहेको देखिएमा समेत जाँचबुझ गरिने मापदण्डमा उल्लेख गरेको छ।