गुणाकर भट्टको नियुक्तिपछि बीमा प्राधिकरणको नेतृत्व चयनको बाटो खुल्यो, पुरानो प्रक्रिया के हुन्छ ?


काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएसँगै लामो समयदेखि अन्योलमा रहेको बीमा क्षेत्रको नियामकीय नेतृत्व चयन प्रक्रिया अघि बढ्ने भएको छ। बीमा ऐनअनुसार नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ।

यसअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने प्रयास गरेका थिए। तर, तत्कालीन अध्यक्ष शरद ओझालाई बर्खास्त नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको थियो। उक्त आदेशले निरन्तरता नपाएपछि खनालले पुनः प्रक्रिया अघि बढाउन खोजेका थिए। उनले अर्थ मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा अदालतले बाटो खुलाए राम्रो व्यक्ति नियुक्त गरेर जाने इच्छा व्यक्त गरेका थिए।

तर, आमनिर्वाचनको आचारसंहिताका कारण निर्वाचन आयोगले नियुक्तिका लागि अनुमति नदिएपछि प्रक्रिया फेरि रोकिएको थियो। यसअघि गत १४ भदौमा बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको थियो। त्यसका लागि तत्कालीन योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा, अर्थ मन्त्रालयका सचिव सदस्य र डा। खोमराज खरेल विज्ञ सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो।

अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका थिए। आवेदकमध्ये ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका बिक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणि शिवाकोटी, डा. राजेन्द्र पण्डित र रमेशकुमार भट्टराई रहेका थिए। यस्तै भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपाने, कास्कीका डा. दामोदर बसौंला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकाल, लम्जुङका प्रा. डा. दीपकबहादुर र दाङका यज्ञप्रसाद न्यौपानेले पनि आवेदन दिएका थिए।

तर सर्वोच्चको अल्पकालीन आदेशपछि उक्त प्रक्रिया रोकिएको थियो। अब नयाँ सिफारिस समिति गठन भएपछि फेरि आवेदन आह्वान गरिने कि पुरानै प्रक्रियालाई निरन्तरता दिइने भन्ने विषयमा अन्योल कायम रहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।