गभर्नर पौडेलको अमेरिका जाने हतारोले एक जना मात्रै डेपुटी नियुक्ति

'अमेरिका जाने हतारमा रहेका गभर्नर पौडेलका लागि यो नियुक्ति अनिवार्य सर्त जस्तै बनेको थियो।'


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको अमेरिका भ्रमणलाई प्राथमिकता दिँदै सरकारले हतारोमा एक जना मात्रै डेपुटी गभर्नर नियुक्त गरेको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको अमेरिका भ्रमणका लागि ‘बाटो खोल्न’ मात्रै मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा पदोन्नति गरेको बुझिएको हो।

एक महिनादेखि दुई जना डेपुटी गभर्नरको पद रिक्त थिए। राष्ट्र बैंक ऐनअनुसार गभर्नरको विदेशी भ्रमण वा बिदा हुँदा डेपुटी गभर्नरलाई कार्यवाहक तोक्नुपर्ने हुन्छ। पौडेलले विदेश भ्रमणमा जानका लागि कार्यवाहक तोक्न नपाएपछि डेपुटी गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई दबाब दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

गभर्नर पौडेलको ‘हतारो’ सम्बोधन गर्न सरकारले तत्कालका लागि एक जना मात्रै नियुक्त गरेको स्रोतको भनाइ छ। स्रोतअनुसार गभर्नरले नियुक्तिका लागि सिफारिस गर्ने कार्यकारी निर्देशकहरूलाई मेरिटका आधारमा मूल्यांकन गर्ने अर्थमन्त्रीको अडान थियो। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वासिङ्टन डिसीमा हुने बैठकमा भाग लिन आगामी २७ गते प्रस्थान गर्ने तयारीमा रहेका गभर्नर पौडेलका लागि यो नियुक्ति अनिवार्य सर्त जस्तै बनेको थियो। दुवै डेपुटी पद रिक्त रहेको अवस्थामा गभर्नर विदेश जाँदा बैंकको बागडोर कसलाई सुम्पिने भन्ने कानुनी जटिलता फुकाउनकै लागि मात्र पण्डितको इन्ट्री गराइएको हो।

संस्थागत सुदृढीकरणका लागि दुवै पदमा योग्य व्यक्ति ल्याउनुको सट्टा गभर्नरको भ्रमण टोलीको कार्यतालिका मिलाउन एउटा मात्र नियुक्ति गरिएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विदेश भ्रमणमा ‘रेड कार्ड’ देखाइदिएका थिए। अर्थमन्त्रीलाई रोकेर उनको ठाउँमा सहसचिव डा. धनीराम शर्मालाई पठाउने निर्णय गरिएको थियो। गभर्नर पौडेलले यसअघिका अर्थमन्त्री रामेश्वर खनालबाटै आफ्नो भ्रमण स्वीकृत गराइसकेको र सोही अनुसार चैत २८ र २९ गतेको बाटो म्याद समेत तय गरिसकेको स्रोतको दाबी छ।