काठमाडौं – विभिन्न सरकारी कार्यालय र सेवा प्रदायक संस्थामा ‘छिटो काम गरिदिन्छु’ भन्दै सर्वसाधारणबाट रकम असुल्ने बिचौलियाविरुद्ध प्रहरीले देशव्यापी अभियान सुरु गरेको छ। लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको सास्ती घटाउन सुरक्षा निकाय सक्रिय बनेपछि पछिल्लो समय बिचौलियामाथि कडाइ बढेको हो।
नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत सरकारी कार्यालय, मालपोत, यातायात व्यवस्था कार्यालय, अध्यागमन र अस्पतालजस्ता भिडभाड हुने स्थानहरूमा निगरानी बढाइएको छ। प्रहरीले ‘लाइन बस्न पर्दैन’,‘अधिकारीसँग मिलाइदिन्छु’ जस्ता प्रलोभन देखाएर ठगी गर्ने गिरोहलाई लक्षित गर्दै कारबाही तीव्र बनाएको जनाएको छ।
प्रहरीका अनुसार अभियान सुरु भएको चार दिनमै देशभरबाट २ सय २६ जना बिचौलिया पक्राउ परेका छन्। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट पक्राउ परेकामाथि ठगी, सार्वजनिक हितविरुद्धको अपराध तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
विभिन्न सरकारी कार्यालय र सेवा प्रदायक संस्थामा ‘छिटो काम गरिदिन्छु’ भन्दै सर्वसाधारणबाट रकम असुल्ने बिचौलियाविरुद्ध प्रहरीले देशव्यापी अभियान सुरु गरेको छ।
बिचौलियाको प्रभाव घटाउन प्रहरी कार्यालयहरूको सुरक्षा र अनुगमन पनि कडाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालयदेखि इलाका तहसम्मका कार्यालयको मुख्य प्रवेशद्वार र वरपर सिसिटिभी जडान गरी निगरानी बढाइएको छ भने दैनिक आउने व्यक्तिहरूको अभिलेख राख्ने व्यवस्था गरिएको छ। साथै, बिचौलियाको प्रवेश तत्काल निषेध गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
कार्यालयभित्र अनावश्यक भिडभाड रोक्न सेवाग्राहीलाई मात्र प्रवेश दिने व्यवस्था लागू गरिएको छ। यदि सेवाग्राहीलाई भाषागत समस्या, अशक्तता वा अन्य कारणले सहयोगी आवश्यक परेमा मात्र साथमा आएको व्यक्तिको विवरण राखेर प्रवेश दिइनेछ।
यसैबीच, सरकारले पनि सेवा प्रवाहलाई सरल, छिटो र प्रविधिमैत्री बनाउने प्रयास अघि बढाएको छ। अनलाइन प्रणाली विस्तार, नागरिक सहायता कक्ष स्थापना तथा सेवाग्राहीमैत्री नीतिमार्फत बिचौलियाको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ।
कुनै प्रभाव वा दबाबमा नपरी न्यायिक प्रक्रियाको पूर्ण पालना गर्दै शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको प्रहरीका प्रवक्ता अविनारायण काफ्ले बताउँछन्। उनी भन्छन्, ‘नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित नागरिकमैत्री, पारदर्शी एवम् छिटो छरितो सेवा प्रवाह गर्नु हो।’

यस क्रममा काठमाडौं जिल्ला प्रहरी परिसरले एक हप्तामा आपराधिक गतिविधिमा संलग्न १७९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा अधिकांश बिचौलिया बनेर कानुन विपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने रहेका छन्।
बसपार्क, एयरपोर्ट, यातायात कार्यालयमा सर्वसाधारणलाई दुख दिनेहरूलाई पक्राउ गरिएको हो।बिचौलियाहरूले बसपार्कहरूमा यात्रुहरूलाई दुख दिने, आफ्नो गाडीमा लग्न यात्रुहरूलाई लछारपछार गर्ने, एयरपोर्टबाट यात्रुहरूलाई आफ्नो होटेलमा बस्ने भनेर दुख दिने गरेको उनले बताए। साथै, काठमाडौंमा १९ र २० गते मात्रै ७६ जना पक्राउ परेका छन्।

त्यस्तै, पछिल्लो समय प्रत्यक्ष सेवा प्रवाह हुने प्रहरी कार्यालय तथा अन्य कार्यालय वरपर रहेर छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ आम नागरिकलाई दुःख, हैरानी दिने व्यक्ति तथा बिचौलियाहरू पहिचान र पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी सक्रिय रहेको छ।
साथै, भक्तपुरबाट एक दिनमा ६० जना आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पक्राउ परे। जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरू समेतबाट गरिएको स्वीप अप्रेसनमा शनिबार र आइतबार मात्रै ९० जना पक्राउ परे। साथै, जिल्ला प्रहरी परिसर ललितपुरले ४७ जना बिचौलिया पक्राउ गर्याे। जसमा यातायात कार्यालय एकान्त कुनाबाट १५ जना र ललितपुर नापी कार्यालय तथा यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परे।
यसैगरी, यातायात व्यवस्था कार्यालय पोखराबाट १८ जना बिचौलियाहरू पक्राउ परे। कास्की पोखरा–९ को पृथ्वी चोक बसपार्क ७ जना बिचौलिया पक्राउ परे। यातायात व्यवस्था कार्यालय र बसपार्कमा आएका सर्वसाधारण सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिएको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात् जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट खटिई गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
मालपोत कार्यालय भरतपुरमा अनधिकृत रूपमा प्रवेश गर्ने ६ जना, सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया लाई पक्राउ गर्याे। केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार यही चैत १८, १९, २० र २१ गतेको अभियानअन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको छ।
लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको सास्ती घटाउन सुरक्षा निकाय सक्रिय बनेपछि पछिल्लो समय बिचौलियामाथि कडाइ बढेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार, १८ गते काठमाडौं उपत्यकाबाट ५१ जना, कोसी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए। यस्तै, २० गते मधेस प्रदेशबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौं उपत्यकाबाट ६२ जना पक्राउ परेका थिए।



About Us
प्रतिक्रिया