काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मंगलबार दिउँसो १२:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको सिफारिसमा दुई जना डेपुटी गभर्नर पदपूर्ति गर्ने सम्भावना रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र आउँदो २५ फागुनमा पाँच वर्षीय कार्यकाल सकाएर अवकाशमा गएका थिए। प्रतिस्पर्धामा रहेका कार्यकारी निर्देशकहरूमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभागका रामु पौडेल, आर्थिक अनुसन्धान विभागका डा. रामशरण खरेल र बैंक सुपरिवेक्षण विभागका दीर्घ बहादुर रावल लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका नरेश शाक्य, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल, र वित्तीय संस्था सुपरिवेक्षण विभागका विश्रुत थापा छन्। त्यसैगरी गभर्नरको कार्यालयका दयाराम शर्मा, मानव संसाधन व्यवस्थापन विभागका गुरुप्रसाद पौडेल, विदेशी विनिमय व्यवस्थापन विभागका किरण पण्डित, भुक्तानी प्रणाली विभागका डा. सत्येन्द्र तिमिल्सिना र गैरबैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभागका चेत प्रसाद उप्रेती पनि दौडमा छन्।
बैंकिङ्ग विभागका रोशन कुमार सिग्देल, मौद्रिक व्यवस्थापन विभागका डा. डिल्लीराम पोखरेल, सूचना प्रविधि विभागका निश्चल अधिकारी र मुद्रा व्यवस्थापन विभागका अनुज दाहाल पनि प्रतिस्पर्धी सूचीमा समावेश छन्।
यस्तै, आन्तरिक लेखा परीक्षण विभागका दीपक राज लामिछाने, कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका राजन विक्रम थापा र वित्तीय व्यवस्थापन विभागका राजेन्द्र भट्टराई पनि डेपुटी गभर्नर पदका दाबेदार हुन्। डेपुटी गभर्नर पद राष्ट्र बैंकको नीति निर्माण, मौद्रिक व्यवस्थापन, बैंकिङ्ग प्रणालीको निगरानी तथा समष्टिगत आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण पद मानिन्छ। यस पदका लागि हुने छनोट प्रक्रियालाई बैंकभित्र र वित्तीय क्षेत्रमा चासोका साथ हेरिएको छ।



About Us
प्रतिक्रिया