काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले पर्वतीय क्षेत्रमा हुने फेक रेस्क्युका घटनामा तत्काल अनुसन्धान तथा निगरानी कडा बनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै फेक रेस्क्युका घटनाहरू सम्पूर्ण पर्यटन क्षेत्रको प्रतिनिधित्व नगर्ने बताउँदै निगरानी तथा कार्यान्वयन प्रणालीमा रहेका कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
मन्त्रालयले इमानदार तथा जिम्मेवार पर्यटन व्यवसायीहरूलाई असर नपर्ने गरी सुधार प्रक्रिया अघि बढाइने पनि बताइएको छ। यस क्रममा, दोषी देखिएका व्यक्ति तथा संस्थामाथि कडा कारबाही, कालोसूचीमा राख्ने र सार्वजनिक गर्ने नीति लागू गरिनेछ। साथै नागरिक उड्डयन प्राधिकरण नेपाल, नेपाल प्रहरी र नेपाल पर्यटन बोर्ड लगायत निकायसँग समन्वय गरी संयुक्त अनुगमन टोली परिचालन गरिएको छ।
सरकारले दीर्घकालीन सुधारका लागि प्रविधिमा आधारित ‘रेस्क्यु व्यवस्थापन प्रणाली’ विकास गर्ने, ट्रेकर दर्ता, उद्धार अनुरोध र बीमा प्रमाणीकरणलाई एकीकृत गर्ने योजना अघि सारेको छ। साथै, गाइड र ट्रेकिङ एजेन्सीहरूको लाइसेन्स प्रक्रिया कडा बनाउने, उचाइजन्य रोगको उपचार मापदण्ड एकरूप बनाउने र स्थानीय तहमा पर्यटन व्यवस्थापन सुदृढ गर्ने तयारी गरिएको छ।



About Us
प्रतिक्रिया