फेसबुक–इन्स्टाग्राम पेज ‘बुस्ट’ गरिदिन्छु भन्दै ठगी: अग्रिम पैसा लिएपछि सम्पर्कविहीन हुने गिरोह सक्रिय


काठमाडौं – सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम पेज ‘बुस्ट’ गरिदिन्छु, सस्तो दरमा विज्ञापन चलाइदिन्छु तथा छोटो समयमै फलोअर्स र लाइक बढाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको प्रहरीले जनाएको छ। पछिल्लो समय यस्ता प्रकारका ठगीका उजुरी उल्लेखनीय रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत हुने ठगीका गुनासा दिनप्रतिदिन बढ्दै गएको जानकारी दिएका छन्। प्रहरीका अनुसार पछिल्लो केही महिनामा मात्र यस्ता प्रकृतिका दर्जनौँ उजुरीहरू दर्ता भएका छन्, जसले समस्या व्यापक बन्दै गएको संकेत गरेको छ।

प्रहरीका अनुसार ठगहरूले सस्तोमा विज्ञापन चलाइदिन्छु, फलोअर्स र लाइक बढाइदिन्छु भन्दै सर्वसाधारण तथा व्यवसायीलाई प्रलोभनमा पार्ने गरेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार पछिल्लो समयमा फेसबुक र इन्स्टाग्राम पेज ‘बुस्ट’ गरिदिन्छु भन्दै ठगी भएको घटनाका उजुरीहरू आउन थालेका छन्।

केही समयअघि मेटाले नेपालमा पनि मोनिटाइजेसन सुविधा सुरु गरेपछि फेसबुक कन्टेन्ट क्रिएटर र अनलाइन व्यवसाय गर्न चाहनेको संख्या बढेको छ। यही अवसरको फाइदा उठाउँदै ठगहरूले फेसबुक र इन्स्टाग्राम पेज ‘बुस्ट’ गरिदिन्छु भन्दै ठगी गर्न थालेका हुन्। डिजिटल युगमा सामाजिक सञ्जाल अपरिहार्य माध्यम बनेसँगै यसको प्रयोगसँग जोडिएका जोखिम पनि बढ्दै गएका छन्। यही अवस्थालाई प्रयोग गरेर ठगहरूले सामाजिक सञ्जाललाई ठगीको माध्यम बनाएका छन्।

प्रहरीका अनुसार यस्ता ठगहरूले अग्रिम भुक्तानी गर्न लगाउने र पैसा पठाइसकेपछि सम्पर्कविहीन हुने गरेका छन्। कतिपय अवस्थामा सेवा नदिने, विभिन्न बहाना बनाएर समय तान्ने, वा नक्कली रिपोर्ट देखाएर झुक्क्याउने पनि गर्ने गरेको उजुरीमा उल्लेख छ। त्यसैले कुनै पनि अनलाइन सेवा लिनुअघि सम्बन्धित व्यक्ति वा पेजको आधिकारिकता बुझेर मात्र अनलाइन भुक्तानी गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा सामाजिक सञ्जालमार्फत हुने ठगीका २६ वटा, आर्थिक वर्ष ०८०/८१ मा १६ वटा, आर्थिक वर्ष ०८१/८२ मा ९ वटा र चालु आर्थिक वर्षको हालसम्ममा २७ वटा उजुरी दर्ता भएका छन्। यस तथ्यांकले अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस्ता ठगीका घटना बढेको देखाउँछ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा यस्ता ठगीमा संलग्न ९४३ जना नेपाली र ५ जना विदेशी, आर्थिक वर्ष ०८०/८१ मा १९८ जना नेपाली र २५ जना विदेशी, आर्थिक वर्ष ०८१/८२ मा १३१ जना नेपाली र ३२ जना विदेशी तथा चालु आर्थिक वर्षमा ३१ जना नेपाली र ६ जना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिलाई सजिलै विश्वास नगर्न, आधिकारिक कम्पनी वा एजेन्सीमार्फत मात्र सेवा लिन र शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।

प्रहरीका अनुसार ठगहरूले सामाजिक सञ्जालमै आकर्षक विज्ञापन राख्ने, नक्कली वा नक्कल गरिएको प्रोफाइल र पेज सञ्चालन गर्ने तथा आफूलाई डिजिटल मार्केटिङ विशेषज्ञका रूपमा प्रस्तुत गर्ने गरेका छन्। उनीहरूले सस्तो मूल्यमा उच्च पहुँच र इन्गेजमेन्ट बढाइदिने दाबी गर्दै व्यवसायी तथा व्यक्तिगत प्रयोगकर्तालाई लोभ्याउने गर्छन्।

नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै जाँदा साना तथा मझौला व्यवसायहरूले आफ्नो उत्पादन र सेवा प्रचार गर्न फेसबुक र इन्स्टाग्रामलाई मुख्य माध्यमका रूपमा प्रयोग गर्न थालेका छन्। यही अवस्थाको फाइदा उठाउँदै ठगहरूले नयाँ तरिका अपनाएर सर्वसाधारणलाई निशाना बनाइरहेका छन्।

डिजिटल साक्षरता पर्याप्त रूपमा विकास नभएको, आधिकारिक र अनौपचारिक सेवाबीच छुट्याउन कठिन हुने तथा छिटो नतिजा पाउने चाहना पनि यस्ता ठगी बढ्नुका प्रमुख कारण मानिएको छ। प्रहरीले डिजिटल अपराध नियन्त्रणका लागि निगरानी बढाइएको र ठगीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन विशेष अभियान सञ्चालन भइरहेको जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिलाई सजिलै विश्वास नगर्न, आधिकारिक कम्पनी वा एजेन्सीमार्फत मात्र सेवा लिन र शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।