नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्नु छ : अर्थमन्त्री वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्नुपर्ने बताएका छन् । नेपाल स्टक ब्रोकर एशोसिएसनमा प्रतिनीधिसँगको भेटका क्रममा उनले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनुपर्ने बताएका हुन् ।

उनले अपराध गरेकालाई उन्मुक्ति नहुँने र छानीछानी प्रतिशोध नहुने बताए । वाग्लेले सरकार निजी क्षेत्र मैत्री छ रहेको भन्दै आफ्नो पहिलो निर्णय हेरेर पनि रास्वपा र सरकार निजीक्षेत्र विरोधी नहुने पृष्टि हुने बताएका हुन् । ‘हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ ।’ उनले भने ।

नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउने उनले बताए । उनले हल्ला र गलत अफवाहको पछि कोही पनि नलाग्न आग्रह गरे । ‘ शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।’

यस्तै, अर्थमन्त्री वाग्लेसँगको भेटमा ब्रोकरका प्रतिनिधिहरूले पनि आफ्ना कुराहरु राखेका थिए । स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले वर्तमान बजारमा शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेको र जसका कारण साना लगानीकर्ता आत्तिएको बताएका छन् । उनले बजारमा गलत हल्ला मच्चाउनेहरु रहेको भन्दै संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी रहेको बताए ।

उनले निजी क्षेत्रमाथिको अनुसन्धान जायज रहेकाे बताउँदै अनुसन्धान गोप्य राखिनु पर्ने धारणा राखे ।