काठमाडौं – शेयर बजारमा ठूलो गिरावट आएपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गर्ने तयारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्र तत्कालका लागि रोकिएको छ। मन्त्रालय स्रोतकाअनुसार बजारमा नकारात्मक सन्देश जाने जोखिम देखिएपछि श्वेतपत्र सार्वजनिक गर्ने निर्णय ‘होल्ड’ गरिएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले १२ चैतसम्मको आर्थिक अवस्थाबारे श्वेतपत्र ल्याउने पहिलो निर्णय गरेका थिए। आइतबार नै श्वेतपत्र सार्वजनिक गर्ने तयारी पनि गरिएको थियो। तर, सोही दिन शेयर बजार परिसूचक एकैदिन १०५.५ अंकले घटेपछि अर्थ मन्त्रालय श्वेतपत्र सार्वजनिक गर्ने निर्णयबाट पछि हटेको हो।
आइतबार बजार परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ बिन्दुमा झरेपछि बजारमा ‘पहिरो’ जस्तै अवस्था देखिएको थियो। बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताहरूले सिंहदरबार आसपास विरोध कार्यक्रमसमेत गरेका थिए।
सरकारले श्वेतपत्रमार्फत अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्दा विगतमा जस्तै अघिल्लो सरकारको आलोचना र निराशाजनक चित्र प्रस्तुत हुने सम्भावना रहेको र त्यसले बजारमा थप नकारात्मक असर पार्न सक्ने भन्दै श्वेतपत्र तत्काल सार्वजनिक नगर्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन्।
यसैबीच सोमबार स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्रीलाई भेटेर बजारबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। बजार बिग्रिसकेपछि मात्र हस्तक्षेप गर्दा सुधार गर्न कठिन हुने भन्दै उनीहरूले सरकारलाई समयमै नीति स्पष्ट गर्न आग्रह गरेका छन्।
ब्रोकर प्रतिनिधिहरूले पछिल्लो समय सम्पत्ति शुद्धीकरणको नाममा व्यापारीहरू पक्राउ पर्ने क्रम बढ्दा बजार त्रसित बनेको र त्यसले पनि बजार गिरावटमा भूमिका खेलेको मन्त्रीलाई जानकारी गराएका छन्।
एसोसिएसनले बजार सुधारका लागि सरकारले गर्नुपर्ने केही काम पनि मन्त्रीसमक्ष राखेको छ। जसमा बैंक तथा वित्तीय संस्थालाई लगाइएको ६ महिनाको क्याप हटाउने, गैरआवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्न सहज बनाउने, पुँजीगत लाभकर अन्तिम हो वा अग्रिम हो स्पष्ट गर्ने, सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यान्वयनका लागि सेबोन र नेप्सेलाई निर्देशन दिने लगायतका विषय उठाइएको छ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई निराश नहुन आग्रह गर्दै सरकार बजार स्थिर बनाउन आवश्यक कदम चाल्ने बताएका छन्।



About Us
प्रतिक्रिया